काठमाडौं, ३२ असार। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तथा महान्यायाधिवक्ता डा. नारायणदत्त कंडेललाई हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आग्रह गरेको दाबी सार्वजनिक भएको छ।
लोकान्तरले उच्च स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार असार २८ गते बूढानीलकण्ठस्थित सभापति लामिछानेको निवासमा भएको करिब चार घण्टाको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सरकारको कार्यसम्पादनबारे असन्तुष्टि व्यक्त गर्दै उक्त प्रस्ताव राखेका हुन्।
समाचारअनुसार सरकारका निर्णयहरू पटक–पटक अदालतबाट बदर हुनुमा कानून मन्त्रालय र महान्यायाधिवक्ताको भूमिका प्रभावकारी हुन नसकेको भन्दै प्रधानमन्त्री शाहले असन्तुष्टि व्यक्त गरेका थिए। पछिल्लो समय सरकारका केही निर्णय सर्वोच्च अदालतबाट रोकिएका वा बदर भएका घटनालाई उनले उदाहरणका रूपमा प्रस्तुत गरेको स्रोतको दाबी छ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यसम्पादनप्रति पनि प्रधानमन्त्री शाहले असन्तुष्टि जनाएको समाचारमा उल्लेख छ। विद्युतीय सवारीसाधनको भन्सार नीतिदेखि शेयर बजारको अवस्थासम्मका विषय उठाउँदै अर्थ मन्त्रालयको नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा उनले राखेको स्रोतको भनाइ छ।
यता, सोही भेटवार्तामा सभापति रवि लामिछानेले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहको भूमिकामाथि प्रश्न उठाउँदै सल्लाहकार टोली पुनर्गठन गर्नुपर्ने सुझाव दिएको पनि समाचारमा उल्लेख गरिएको छ। विशेष गरी संविधान संशोधन बहस, प्रधानमन्त्री कार्यालयको कार्यशैली तथा केही प्रशासनिक निर्णयका विषयमा उनले असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ।