काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले रसुवा बाढीबाट प्रभावित विद्यार्थीलाई शैक्षिक शुल्कमा सहुलियत र आवश्यकताअनुसार छात्रावासको व्यवस्था गर्न माग गरेको छ।
अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले सोमबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई ज्ञापनपत्र बुझाउँदै बाढी प्रभावित विद्यार्थीलाई अध्ययनका क्रममा लाग्ने आवश्यक शैक्षिक शुल्कमा उचित सहुलियत प्रदान गर्न तथा आवश्यकताका आधारमा छात्रावासमा आवासीय व्यवस्था मिलाउन माग गरेको हो।

ज्ञापनपत्रमा त्रिविको ६७औँ सिनेट बैठक यथाशीघ्र आह्वान गरी रोकिएका वार्षिक बजेट तथा कार्यक्रम, नीतिगत एवं प्रशासनिक निर्णय पारित तथा कार्यान्वयन गर्न र रिक्त सिनेट सदस्यहरूको मनोनयन प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ।

त्यस्तै, त्रिविबाट सम्बन्धन प्राप्त केही सामुदायिक तथा निजी क्याम्पसहरूले एउटै व्यवस्थापन, भवन, प्रशासनिक संरचना तथा शैक्षिक पूर्वाधार प्रयोग गरी त्रिविसँगै अन्य विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्का कार्यक्रम सञ्चालन गरिरहेको विषयमा छानबिन गरी नियमविपरीत सञ्चालन भएका कार्यक्रम तथा क्याम्पसमाथि कारबाही गर्न माग गरिएको छ।
अनेरास्ववियुले त्रिविका अतिक्रमित चल–अचल सम्पत्तिको पहिचान गरी कानुनी प्रक्रिया अपनाएर विश्वविद्यालयको स्वामित्वमा फिर्ता ल्याउने प्रक्रिया तत्काल अघि बढाउनसमेत माग गरेको छ।
ज्ञापनपत्रमा यसअघि अनेरास्ववियु जिल्ला कमिटीले त्रिविको शैक्षिक, प्रशासनिक तथा प्राज्ञिक सुधारका लागि प्रस्तुत गरेका माग कार्यान्वयन गर्न स्पष्ट र समयबद्ध रोडम्याप उपलब्ध गराउन तथा स्नातक तहका विद्यार्थीहरूले राखेका माग सम्बोधन गर्न आवश्यक प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका कार्यवाहक संयोजक हिक्मत कुमार बुढाले विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्रशासनिक सुशासन, प्राज्ञिक मर्यादा, सम्पत्ति संरक्षण तथा विद्यार्थीका जायज माग सम्बोधन गर्नु विश्वविद्यालय प्रशासनको प्राथमिक दायित्व भएको बताए।
ज्ञापनपत्रमा मागहरू शीघ्र सम्बोधन नभए विद्यार्थी, प्राध्यापक तथा सरोकारवाला पक्षसँग समन्वय गरी लोकतान्त्रिक एवं शान्तिपूर्ण ढंगबाट थप दबाबमूलक कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिइएको छ।