काठमाडौं । अष्ट्रेलियामा जारी एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोली न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले पराजित भएको छ।
डार्विनस्थित रारा क्रिकेट मैदानमा नेपालले दिएको २१२ रनको लक्ष्य न्युजिल्यान्ड ‘ए’ले ४९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो। न्युजिल्यान्डको जितमा रिस मारिउले उत्कृष्ट शतकीय पारी खेले। उनले १३४ बलमा १३७ रन बनाए।
त्यस्तै म्याथ्यु फिसरले २३ तथा मुहम्मद अब्बासले २० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि बलिङमा रिजन ढकाल, शाहब आलम र युवराज खत्रीले समान २–२ विकेट लिए। पवन सर्राफ र विपिन खत्रीले १–१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २११ रन बनाएको थियो। नेपालका लागि अलराउन्डर पवन सर्राफले ५९ रनको अर्धशतकीय पारी खेले भने लोकेश बमले ४७ रन बनाए।
कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० तथा विपिन खत्रीले १२ रन बनाए। अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। न्युजिल्यान्ड ‘ए’का लागि म्याथ्यु फिसरले सर्वाधिक ४ विकेट लिए।
योसँगै नेपाल ‘ए’ले जारी एकदिवसीय शृङ्खलामा लगातार तेस्रो हार व्यहोरेको छ। यसअघि नेपाल तस्मानियासँग २ विकेट तथा साउथ अष्ट्रेलियासँग १३८ रनले पराजित भएको थियो।