बिहिबार, भदौ २५, २०८३
Follow us:

एसीसी प्रिमियर कपमा नेपाललाई हङकङसँग १५ रनको हार

एसीसी प्रिमियर कपमा नेपाललाई हङकङसँग १५ रनको हार

  • सत्य खबर नेपाल

  • मङ्लबार, भदौ २३, २०८३

  • 1
    SHARES
एसीसी प्रिमियर कपमा नेपाललाई हङकङसँग १५ रनको हार
KLANG, MALAYSIA - SEP 08: Pictures from the match between Nepal and Hong Kong, China held at the Bayuemas Oval on September 08, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले पहिलो हार बेहोरेको छ । क्वालालाम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो ।

हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमै अलआउट भयो । नेपालका लागि इशान पाण्डेले ९० रनको शानदार पारी खेले । यस्तै, आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुलशन झाले २० रन बनाए ।

हङकङका अइजाज खानले चार विकेट लिए भने यसिम मुर्ताजा दुई तथा किन्चित देवांग सिंह, नुसरुल्लाह राणा र अतिकुल इकबालले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो । हङकङका बाबर हयातले ११७ रनको अविजित शतकीय पारी खेले । शाहिद वसिफले ४५ तथा जिशान अलीले १५ रन बनाए भने एहसान खान ३५ रनमा नटआउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले चार तथा शेर मल्लले तीन विकेट लिए ।

हारका बाबजुद नेपालले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह चरणमा नेपाल र हङकङले समान ६–६ अंक जोडे पनि राम्रो रनरेटका आधारमा नेपाल समूह विजेता बनेको हो ।

नेपालले यसअघि समूह चरणका खेलमा बहराइनलाई ७ विकेट, आयोजक मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology