बिहिबार, भदौ २५, २०८३
Follow us:

बाढी प्रभावित क्षेत्रमा एनसेलले दियो नि:शुल्क इन्टरनेट सेवा

बाढी प्रभावित क्षेत्रमा एनसेलले दियो नि:शुल्क इन्टरनेट सेवा

  • सत्य खबर नेपाल

  • मङ्लबार, भदौ २३, २०८३

  • 1
    SHARES
बाढी प्रभावित क्षेत्रमा एनसेलले दियो नि:शुल्क इन्टरनेट सेवा

कठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रहरूमा स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ । बाढीका कारण परम्परागत सञ्चार सञ्जाल अवरुद्ध भएका स्थानहरूमा खोज, उद्धार र राहत कार्यलाई सहज बनाउन यो विशेष पहल गरेको हो ।

एनसेलले युटेलस्याटको ‘लो अर्थ अर्बिट’ (LEO) स्याटलाइटमार्फत सञ्चालित उपकरणहरू प्रयोगमा ल्याएको छ । यो प्रविधिले जमिनको पूर्वाधार (फाइबर वा टावर) क्षतिग्रस्त भएको अवस्थामा पनि अन्तरिक्षमा रहेका स्याटलाइटमार्फत सिधै इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने प्राविधिकले बताएका छन् । एनसेलले सरकारी निकायहरूसँगको समन्वयमा राहत वितरण केन्द्र, अस्थायी शिविर र आपत्कालीन कार्य हुने स्थानहरूमा यो सेवा जडान गरिरहेको हो ।

कम्पनीका अनुसार हालसम्म नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा स्याटलाइट इन्टरनेट सेवा सुरु भइसकेको छ भने अन्य प्रभावित क्षेत्रमा जडान कार्य जारी छ । यो सेवामार्फत प्रभावित समुदाय, उद्धारकर्मी र सरकारी निकायले उच्च गतिको वाइफाइ प्राप्त गर्नेछन्, जसबाट सन्देश आदानप्रदान, भ्वाइस कल र राहत कार्यको समन्वय गर्न सजिलो हुनेछ । हालको संकटपूर्ण अवस्थामा यो सेवा पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठले भने, ‘सडक र सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएको नुवाकोटका स्थानहरूमा हामीले स्याटलाइट पहुँच स्थापना गरेका छौँ । विपद्को समयमा कनेक्टिभिटी केवल सुविधा मात्र नभई एउटा लाइफलाइन हो भन्ने हाम्रो विश्वास छ ।’

एनसेलले स्याटलाइट इन्टरनेटका साथै बाढी प्रभावित क्षेत्रका करिब ३ लाखभन्दा बढी ग्राहकहरूलाई हरेक दिन नि:शुल्क भ्वाइस, डाटा र एसएमएस सेवा समेत प्रदान गर्दै आएको छ । यसअघि एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग समेत गरिसकिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology