न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि नेपालको हिमालबाट जलवायु परिवर्तनको जोखिमबारे आफूले दिएको चेतावनी अहिले नेपालमा देखिएका घटनाले वास्तविक रूपमा पुष्टि गरेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई मंगलबार सम्बोधन गर्दै गुटेरेसले हिमालमा तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा आफूले त्यतिबेलै विश्वलाई सचेत गराएको स्मरण गरे।
‘तीन वर्षअघि नेपालका हिमालहरूबाट मैले विश्वको छानो खसिरहेको चेतावनी दिएको थिएँ। अत्यन्तै तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा खतराको घण्टी बजाएको थिएँ,’ उनले भने।
नेपालमा पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो र व्यापक रूपमा देखिन थालेको उनको भनाइ थियो।
गुटेरेसले जलवायु परिवर्तनको मूल्य कमजोर तथा विकासशील देशहरूले तिर्नुपरेको भन्दै जलवायु न्यायको आवश्यकता औँल्याए। उनका अनुसार प्रदूषणका लागि बढी जिम्मेवार पक्षले त्यसको मूल्य चुकाउनुपर्छ र प्रभावित कमजोर देशले न्याय पाउनुपर्छ।
उनले जलवायु परिवर्तनसँग जुध्न आवश्यक आर्थिक स्रोतको अभाव रहेको बताउँदै हानि तथा नोक्सानी कोषमा पर्याप्त रकम उपलब्ध गराउन विकसित देशहरूलाई आग्रह गरे।
महासचिव गुटेरेसले जलवायु वित्तमा विकसित देशहरूले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने, अनुकूलन वित्त बढाउनुपर्ने र हानि तथा नोक्सानी कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए।
उनले अन्तर्राष्ट्रिय नियमहरू कमजोर हुँदै गएको भन्दै विश्वमा द्वन्द्व, असमानता, जलवायु संकट र प्राविधिक चुनौतीहरू एकअर्कासँग जोडिएको पनि उल्लेख गरे।
मध्यपूर्व, युक्रेन, सुडान र म्यानमारलगायत क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै गुटेरेसले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघीय बडापत्रका मूल्यमान्यताको सम्मान गर्नुपर्ने बताए।
प्रविधिको प्रयोगमा पनि उत्तरदायित्व आवश्यक रहेको भन्दै उनले जीवन र मृत्युका निर्णय मेसिनको हातमा सुम्पन नहुने बताए। ‘हत्यारा रोबोट’को प्रयोग रोक्नुपर्ने उनको धारणा थियो।
महासभाको मंगलबारको उद्घाटन सत्रमा गुटेरेससहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र महासभाका अध्यक्ष डा. खलिलुर रहमानले सम्बोधन गरेका थिए। नेपालका प्रधानमन्त्री बालेन शाहले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।