शनिबार, जेष्ठ ३०, २०८३
Follow us:

प्रदर्शनीमार्ग क्षेत्रमा प्रदर्शन र नाराजुलुस नगर्न सर्वोच्चको आदेश

प्रदर्शनीमार्ग क्षेत्रमा प्रदर्शन र नाराजुलुस नगर्न सर्वोच्चको आदेश

  • सत्य खबर नेपाल

  • बिहिबार, जेष्ठ २८, २०८३

  • 5
    SHARES
प्रदर्शनीमार्ग क्षेत्रमा प्रदर्शन र नाराजुलुस नगर्न सर्वोच्चको आदेश

२८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक संस्था तथा अस्पतालहरू अवस्थित प्रदर्शनीमार्ग क्षेत्रमा सार्वजनिक आवागमन अवरुद्ध हुने गरी सभा, भेला, आन्दोलन, नाराजुलुस तथा प्रदर्शनलगायतका गतिविधि नगर्न निर्देशनात्मक आदेश जारी गरेको छ।

नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले नियमित रूपमा हुने प्रदर्शन र नाराजुलुसका कारण पठनपाठन प्रभावित भएको भन्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो। अदालतले २३ पुस २०८२ मै आदेश जारी गरे पनि त्यसको पूर्णपाठ बिहीबार सार्वजनिक भएको छ।

अदालतले प्रदर्शनीमार्ग क्षेत्रमा हुने गतिविधिका कारण विद्यार्थीको अध्ययन, बिरामीको उपचार तथा सर्वसाधारणको आवागमनमा प्रतिकूल असर परेको ठहर गर्दै त्यस्ता गतिविधिमा रोक लगाउन आवश्यक देखिएको जनाएको छ। साथै अन्य स्थानमा आयोजना हुने सभा, जुलुस तथा प्रदर्शनका क्रममा पनि शैक्षिक संस्था, अस्पताल र संवेदनशील क्षेत्रहरूमा ध्वनि तथा वायु प्रदूषण नहुने गरी आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रदर्शनीमार्ग आसपास नेपाल विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, वाल्मीकि क्याम्पस तथा पद्मोदय माध्यमिक विद्यालय सञ्चालनमा छन्। त्यस्तै काठमाडौं मोडेल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र पनि सोही क्षेत्रमा रहेका छन्।

सर्वोच्च अदालतले समाजकल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा पनि सीमित प्रकृतिका कार्यक्रम मात्र सञ्चालन गर्न दिनुपर्ने आदेश दिएको छ। अदालतले सामाजिक, शैक्षिक, व्यवसायिक, सांस्कृतिक, बौद्धिक तथा पुरातात्विक प्रकृतिका प्रदर्शनी र कार्यक्रमबाहेक अन्य सभा, सम्मेलन तथा राजनीतिक गतिविधिका लागि उक्त स्थल भाडामा नदिन निर्देशन दिएको हो।

यसअघि भृकुटीमण्डप परिसरमा विभिन्न राजनीतिक दल तथा समूहका कार्यक्रम नियमित रूपमा आयोजना हुँदै आएका थिए। अदालतको आदेशसँगै त्यस्ता गतिविधिमा रोक लाग्ने भएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology