शनिबार, साउन ३०, २०८३
Follow us:

त्रिवि सुधारका लागि अनेरास्ववियुको ३३ बुँदे माग, बेवास्ता गरे आन्दोलनको चेतावनी

त्रिवि सुधारका लागि अनेरास्ववियुको ३३ बुँदे माग, बेवास्ता गरे आन्दोलनको चेतावनी

  • सत्य खबर नेपाल

  • सोमवार, साउन २५, २०८३

  • 24
    SHARES
त्रिवि सुधारका लागि अनेरास्ववियुको ३३ बुँदे माग, बेवास्ता गरे आन्दोलनको चेतावनी

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले विश्वविद्यालयको समग्र सुधारका लागि ३३ बुँदे मागपत्र प्रस्तुत गरेको छ।

त्रिविका उपकुलपतिलाई भेटेर अनेरास्ववियुले विश्वविद्यालयमा आवश्यक शैक्षिक, प्रशासनिक तथा प्रणालीगत सुधारका विषयमा मागपत्र बुझाएको हो।

मागपत्रमा त्रिविलाई प्रविधिमैत्री बनाउनुपर्ने, शैक्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको छ। अनेरास्ववियुले १० हजारभन्दा कम विद्यार्थी भएका विषयको नतिजा ३० दिनभित्र र १० हजारभन्दा बढी विद्यार्थी भएका विषयको नतिजा ६० दिनभित्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

त्यस्तै, पाठ्यक्रममा कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल प्रविधि र डाटा साइन्सजस्ता समसामयिक विषय समावेश गर्नुपर्ने तथा विद्यार्थीका लागि ‘डिजिटल स्टुडेन्ट सर्भिस पोर्टल’ सञ्चालन गर्नुपर्ने माग राखिएको छ।

अनेरास्ववियुले उत्तरपुस्तिका घरमा लगेर परीक्षण गर्ने परिपाटी अन्त्य गरी परीक्षा केन्द्रमै परीक्षणको व्यवस्था गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यालयलाई विकेन्द्रीकरण गर्दै प्रादेशिक कार्यालयलाई थप प्रभावकारी बनाउनुपर्ने मागसमेत गरेको छ।

मागपत्रमा डिन, कार्यकारी निर्देशक तथा क्याम्पस प्रमुखलगायत महत्वपूर्ण पदमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नुपर्ने, विश्वविद्यालयका आर्थिक गतिविधिमा पारदर्शिता कायम गर्नुपर्ने र वनस्पति विज्ञान, प्राणी विज्ञान तथा समाजकार्य विभागका लागि आधुनिक भवन तथा छात्रावास निर्माण गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी, छात्रवृत्ति प्रणालीलाई एकीकृत तथा डिजिटल बनाउनुपर्ने, चार वर्षे स्नातक कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरी आवश्यकताअनुसार पुनः तीन वर्षे स्नातक कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने माग पनि अनेरास्ववियुले अघि सारेको छ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका सह–संयोजक तथा त्रि.वि. स्ववियु सचिब समेत रहेका  हिक्मत कुमार बुढाद्वारा हस्ताक्षरित मागपत्रमा मागहरूलाई बेवास्ता गरिए सशक्त आन्दोलनमा जाने चेतावनीसमेत दिइएको छ।

 

हेरौ माग पत्र यस्तो छः-

त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको प्रमुख संस्था भए पनि पछिल्लो समय शैक्षिक, प्रशासनिक, परीक्षा प्रणाली, छात्रवृत्ति, शुल्क, पूर्वाधार तथा विद्यार्थी सेवासम्बन्धी विभिन्न समस्या देखिँदै आएका छन्। बदलिँदो समय र प्रविधिअनुकूल विश्वविद्यालय सुधार आवश्यक रहेको सन्दर्भमा अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले विद्यार्थीका जायज माग तथा विश्वविद्यालयको समग्र सुधारलाई केन्द्रमा राखी यो मागपत्र प्रस्तुत गरेको छ।

यी मागहरूलाई प्राथमिकताका आधारमा सम्बोधन गरी त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय, पारदर्शी, प्रविधिमैत्री, अनुसन्धानमुखी तथा विद्यार्थीमैत्री विश्वविद्यालय का रूपमा विकास गर्न उपकुलपति सँग जोडदार माग गर्दछौँ।

प्रमुख मागहरू

1. त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित सबै तहका परीक्षाहरूको परीक्षा केन्द्र अनिवार्य आंगिक तथा सामुदायिक क्याम्पसमा मात्र निर्धारण गरियोस्।
2. त्रिवि केन्द्रीय क्याम्पसअन्तर्गत सञ्चालित Conflict, Peace, and Development Studies, International Relations & Diplomacy, Gender Studies तथा Social Work लगायतका कार्यक्रमहरूको शुल्क विद्यार्थीको पहुँचमा हुने गरी तत्काल समायोजन तथा पुनरावलोकन गरियोस्। सबै केन्द्रीय विभाग तथा आंगिक क्याम्पसको शुल्क वैज्ञानिक र पारदर्शी ढंगले निर्धारण गरी अनावश्यक शुल्क वृद्धि रोकियोस् र किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था गरियोस्।
3. त्रिभुवन विश्वविद्यालयका अतिक्रमित जग्गा तथा अन्य चल–अचल सम्पत्तिको संरक्षण तथा कानुनी प्रक्रिया पूरा गरी विश्वविद्यालयको स्वामित्वमा यथाशिघ्र फिर्ता ल्याईयोस्।
4. हजारभन्दा कम विद्यार्थी संख्या भएका विषय/कार्यक्रमको परीक्षा परिणाम ३० दिनभित्र र १० हजारभन्दा बढी विद्यार्थी संख्या भएका विषय/कार्यक्रमको परिणाम ६० दिनभित्र अनिवार्य रूपमा प्रकाशित गरियोस्।
5. त्रिवि डिन कार्यालयअन्तर्गत सञ्चालित BBA, BCA, BIT, BHM, BBM, BTTM, BSc CSIT, लगायतका कार्यक्रमहरू निजी क्याम्पसहरूले मनोमानी रूपमा शुल्क असुल गर्ने प्रवृत्ति अन्त्य गर्दै केन्द्रीय रूपमा न्यूनतम तथा अधिकतम शुल्क सीमा निर्धारण गरी प्रभावकारी कार्यान्वयन गरियोस्।
6. विद्यार्थी तथा शोधकर्तालाई thesis/dissertation को plagiarism परीक्षणका लागि निःशुल्क सुविधा उपलब्ध गराइयोस्। थेसिस तथा शोधप्रबन्धको मूल्याङ्कन सम्बन्धित प्रदेशस्तरमै गर्ने व्यवस्था सुनिश्चित गरियोस्। यसका लागि आवश्यक कानुनी, प्रशासनिक तथा प्राविधिक व्यवस्था मिलाई मूल्याङ्कन प्रक्रियालाई विकेन्द्रीकरण गर्दै छिटो, पारदर्शी, गुणस्तरीय र विद्यार्थीमैत्री बनाइयोस्।
7. केन्द्रीय पुस्तकालयलाई प्रभावकारी, पारदर्शी र विद्यार्थीमैत्री ढंगले सञ्चालन गर्न स्वायत्त निकायका रूपमा विकास तथा सञ्चालन गर्ने आवश्यक संस्थागत प्रक्रिया तत्काल अघि बढाईयोस्।
8. केन्द्रीय पुस्तकालयमा रहेका पाठ्यपुस्तक, सन्दर्भ सामग्री, अनुसन्धानसम्बन्धी पुस्तक तथा अन्य शैक्षिक स्रोतहरूलाई समयअनुकूल रूपमा नियमित अद्यावधिक गरियोस्।
9. वनस्पति विज्ञान (Botany), प्राणी विज्ञान (Zoology), समाजकार्य (Social Work) विभागका लागि आधुनिक शैक्षिक भवन तथा कान्ति छात्रावास (Boys’ Hostel) निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी समयसीमासहित निर्माण कार्य प्रारम्भ गरियोस।
10. प्रशासनिक निर्णय, बजेट, खरिद, नियुक्ति तथा विश्वविद्यालयका महत्वपूर्ण गतिविधिमा पारदर्शिता र जवाफदेहिता बढाइयोस्। विद्यार्थीका गुनासो सुनुवाइका लागि प्रभावकारी Grievance Redressal System स्थापना गरियोस्।
11. पुराना पाठ्यक्रम नियमित रूपमा पुनरावलोकन गरी AI, Digital Technology, Entrepreneurship, Data Science, Climate Change, International Relations लगायत समसामयिक विषयलाई आवश्यकताअनुसार समावेश गरियोस्।
12. त्रिविमा केन्द्रीय Career & Placement Cell स्थापना गरी विद्यार्थीलाई Internship, रोजगार, entrepreneurship तथा उद्योगसँग जोड्ने प्रभावकारी प्रणाली विकास गरियोस्।
13. विज्ञान, प्रविधि, व्यवस्थापन, मानविकी, शिक्षा लगायत सबै संकायका विभागमा आधुनिक प्रयोगशाला, स्मार्ट कक्षा र उच्चगतिको इन्टरनेटको व्यवस्था गरियोस्।
14. Admission, registration, examination form, transcript, migration, recommendation, payment लगायतका सेवाहरूलाई एउटै Digital Student Service Portal मार्फत उपलब्ध गराइयोस्।
15. विश्वविद्यालय, आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा सेवाग्राहीका लागि पर्याप्त, व्यवस्थित र सुरक्षित पार्किङको व्यवस्था गरियोस्।
16. त्रि.वि. विश्वविद्यालय क्याम्पस कीर्तिपुरको विभिन्न विभागहरूमा रहेका दिवाकालीन कक्षाहरू (CDM, CDE) विद्यार्थी हित अनुकूल हुने गरी सम्बन्धित विभागमार्फत सिफ्ट परिवर्तन गरियोस्।
17. सर्वोत्कृष्ट अंक हासिल गर्ने अर्थशास्त्र र व्यवस्थापनका विद्यार्थीहरूलाई राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड तथा कृषि विकास बैंक जस्ता वित्तीय निकायहरूमा सिधै सेवा प्रवेशका लागि पहल गरियोस्। 18. त्रिभुवन विश्वविद्यालयमा MSc Medical Microbiology अध्ययन गरेका विद्यार्थीहरूलाई मेडिकल काउन्सिलमा दर्ता भई सदस्यता प्राप्त गर्न सकिने व्यवस्थाका लागि सम्बन्धित निकायमा पहल गरियोस्।
19. उत्तरपुस्तिका घरमै लगी परीक्षण गर्ने परिपाटी अन्त्य गर्नका लागि पायक पर्ने स्थानमा उत्तरपुस्तिका परीक्षण कक्ष (Mega Hall) को व्यवस्था गरियोस्।
20. अदालतको आदेशबमोजिम दिइने ट्रान्सक्रिप्टमा लेखिने “अदालतको आदेश बमोजिम” भन्ने शब्दावलीलाई हटाई परीक्षा नियन्त्रण कार्यालयमा डिजिटल रेकर्ड राखी ट्रान्सक्रिप्ट प्रदान गरियोस्।
21. त्रि.वि.का डिन, कार्यकारी निर्देशक, निर्देशक, क्याम्पस प्रमुख आदि लगायतका पदहरूमा नियुक्ति गर्दा पारदर्शी ढंगले खुला प्रतिस्पर्धाका आधारमा गर्ने नीति अवलम्बन गरियोस्।
22. त्रिभुवन विश्वविद्यालयका चारैवटा अनुसन्धान केन्द्रहरूलाई विश्वविद्यालयका विद्यार्थी र विभागहरूसँग जोड्न प्राध्यापकहरूले सम्बन्धित विभागमा कम्तीमा एक कक्षा लिने व्यवस्था लागू गरियोस्। सरकारलाई आवश्यक नीति, तर्जुमा गर्नका लागि अनुसन्धान केन्द्रहरूद्वारा परामर्श सेवा प्रदान गर्न सरकार एवं सरोकारवाला निकायहरूसँग संयुक्त प्रस्ताव तयार गरी पहल गरियोस्।
23. शैक्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन गरी समयमै भर्ना, परीक्षा, नतिजा तथा दीक्षान्त सम्पन्न गरियोस्।
24. परीक्षा नियन्त्रण कार्यालयलाई पूर्ण रूपमा प्रविधिमैत्री, डिजिटल तथा विकेन्द्रीकृत बनाउँदै प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयहरूको आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरियोस्। प्रश्नपत्रलाई सुरक्षित अनलाइन प्रणालीमार्फत परीक्षा केन्द्रमा पठाउने व्यवस्था मिलाउनुका साथै परीक्षा सम्बन्धी सेवा तथा प्रमाणपत्र वितरणलाई समेत विकेन्द्रीकरण गरी विद्यार्थीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराइयोस्।
25. आङ्गिक क्याम्पसहरूका पुस्तकालयलाई स्वचालित प्रणालीमा रूपान्तरण गरी E-resource प्रवर्द्धन गरियोस्।
26. सम्बन्धन प्राप्त सामुदायिक तथा निजी क्याम्पसहरूको शैक्षिक, प्रशासनिक तथा भौतिक कार्यसम्पादनको नियमित मूल्याङ्कन र अनुगमन गरी आवश्यक सुधार तथा स्तरोन्नति गरियोस्।
27. विश्वविद्यालयको ब्रान्ड प्रवर्द्धन, नवप्रवर्तन, अनुसन्धान तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्न उत्पादनमुखी नीति अवलम्बन गरियोस
28. विश्वविद्यालय क्याम्पस तथा केन्द्रीय कार्यालय परिसरको Master Plan Map तयार गरी प्राथमिकताका आधारमा भौतिक पूर्वाधार विकास गरियोस्। विश्वविद्यालयका सबै भवन तथा संरचनाहरू दीर्घकालीन योजना, गुणस्तरीय मापदण्ड र त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक पहिचान झल्कने नेपाली कला तथा वास्तुशैलीअनुरूप निर्माण गरियोस्। साथै, विश्वविद्यालयको छुट्टै मौलिक वास्तुकलागत पहिचान कायम गरियोस्।
29. परीक्षा नियन्त्रण कार्यालयलाई प्रविधिमैत्री र विकेन्द्रीकृत बनाउँदै प्रादेशिक कार्यालयहरूको आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरियोस्। प्रश्नपत्र सुरक्षित अनलाइन प्रणालीमार्फत परीक्षा केन्द्रमा पठाउने तथा प्रमाणपत्र वितरणलाई विकेन्द्रीकरण गरी विद्यार्थीलाई सहज र छिटो सेवा उपलब्ध गराइयोस्।
30. Re-totaling/Rechecking प्रक्रियामा परीक्षा नियन्त्रण कार्यालयको त्रुटि प्रमाणित भएमा शुल्क फिर्ता हुने व्यवस्था गरियोस्। साथै पुनर्योग तथा पुनः परीक्षणको कार्यलाई अझ प्रभावकारी र पारदर्शी बनाइयोस्।
31. छात्रवृत्ति प्रणालीलाई एकीकृत, पारदर्शी र डिजिटल बनाइयोस्। विश्वविद्यालयका सबै निकायमा एकद्वार प्रणालीमार्फत छात्रवृत्ति वितरण सुनिश्चित गर्दै आर्थिक रूपमा विपन्न तथा योग्य विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको प्रभावकारी व्यवस्था गरियोस्। साथै, यसको नियमित अनुगमन र पारदर्शी कार्यान्वयन सुनिश्चित गरियोस्।
32. हाल सञ्चालनमा रहेको चार वर्षे स्नातक तहको प्रभावकारिता, विद्यार्थीमाथिको समय तथा आर्थिक भार, अन्तर्राष्ट्रिय अभ्यास, Credit Hour र पाठ्यक्रमको समग्र मूल्याङ्कन गरी आवश्यक परे तीन वर्षे स्नातक कार्यक्रम पुनः सञ्चालन गर्ने व्यवस्था गरियोस्।
33. BCA अन्तर्गत २०% Internal Evaluation का लागि डिन कार्यालयबाट Supervisor पठाउने Academic Council को निर्णय खारेज गरियोस्। यसबापत विद्यार्थीबाट लिइने अतिरिक्त शुल्कसमेत पूर्ण रूपमा हटाइयोस्। साथै, ३ Credit Hour अन्तर्गतको Workload, कक्षा तथा मूल्याङ्कनसम्बन्धी स्पष्ट मापदण्ड निर्धारण गरी कार्यान्वयन गरियोस्।

माथि उल्लिखित मागहरू सम्बोधन गर्ने सन्दर्भमा यथाशीघ्र आवश्यक तदारुकता देखाई मागहरू कार्यान्वयन गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ। यदि मागहरू सम्बोधन गर्ने दिशामा यथोचित तदारुकता नदेखाइएमा अनेरास्ववियु, त्रिवि जिल्ला कमिटीले विद्यार्थीहरूका जायज मागहरू तथा समग्र विश्वविद्यालयको शैक्षिक एवं प्राज्ञिक उन्नयनका लागि थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने व्यहोरा यसै मागपत्रमार्फत जानकारी गराउँदछौँ।

हार्दिक अभिवादनसहित !


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology