शुक्रबार, बैशाख ४, २०८३
Follow us:

अर्थमन्त्रिको चार घर र अपार्टमेन्ट साढे ३ करोडको ऋणमा चुर्लुम्म

अर्थमन्त्रिको चार घर र अपार्टमेन्ट साढे ३ करोडको ऋणमा चुर्लुम्म

  • सत्य खबर नेपाल

  • आइतवार, चैत्र २९, २०८२

  • 22
    SHARES
अर्थमन्त्रिको चार घर र अपार्टमेन्ट साढे ३ करोडको ऋणमा चुर्लुम्म

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले आइतबार मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। यसै क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले को सम्पत्ति विवरणले उल्लेखनीय सम्पत्ति, लगानी र ऋण दायित्व देखाएको छ।

सार्वजनिक विवरणअनुसार अर्थमन्त्री वाग्लेसँग चारवटा घर तथा अपार्टमेन्ट रहेका छन्। ललितपुरको सानेपामा करिब २ करोड रुपैयाँ मूल्यको अपार्टमेन्ट, ललितपुरमै करिब ५ करोड रुपैयाँ बराबरको अर्को घर, काभ्रेमा करिब ३ करोड ७५ लाख रुपैयाँको अपार्टमेन्ट र तनहुँमा करिब २ करोड रुपैयाँ बराबरको घर रहेको उल्लेख गरिएको छ। साथै तनहुँको बन्दिपुरमा ३ रोपनी ३ आना जग्गा (करिब २ करोड रुपैयाँ मूल्य) र भानु नगरपालिकामा ६ रोपनी जग्गा (करिब ८ लाख ५० हजार रुपैयाँ) समेत उनको नाममा रहेको छ।

वाग्लेले आफ्नो र श्रीमतीको नाममा गरी ४५ तोला सुन रहेको विवरण दिएका छन्। त्यसैगरी विभिन्न बैंक खातामा करिब १ करोड ९० लाख रुपैयाँ नगद मौज्दात रहेको उल्लेख गरिएको छ, जसमा हिमालयन बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको रकम समावेश छ।

लगानीतर्फ, अर्थमन्त्री वाग्लेको विभिन्न कम्पनीहरूमा करिब ४ करोड १० लाख रुपैयाँ बराबरको शेयर रहेको छ। उनले सानिमा मिडल तमोर हाइड्रोपावरमा ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता शेयर रहेको जनाएका छन्। साथै नेशनल फन्ड म्यानेजमेन्ट लिमिटेडमा करिब ९० लाख रुपैयाँ, ठूलो खोला परियोजनामा ६० लाख रुपैयाँ र अपर मादी खोला हाइड्रोपावरमा करिब ३ करोड रुपैयाँ बराबरको लगानी रहेको विवरणमा उल्लेख छ।

ऋणतर्फ, वाग्लेले विभिन्न बैंक तथा व्यक्तिगत स्रोतबाट ऋण लिएको देखिएको छ। राष्ट्रिय वाणिज्य बैंकबाट ३८ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ७५ लाख, ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख र व्यक्तिगत सापटीबाट २ करोड ५० लाख रुपैयाँ ऋण लिएको उल्लेख छ। जसमध्ये राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट लिएको ऋण भने उनले चुक्ता गरिसकेको बताएका छन्।

समग्रमा, अर्थमन्त्री वाग्लेको सम्पत्ति विवरणले उच्च मूल्यका अचल सम्पत्ति, उल्लेखनीय बैंक मौज्दात, ठूलो शेयर लगानीसँगै करिब साढे ३ करोड रुपैयाँ बराबरको ऋण दायित्व रहेको देखाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology