शुक्रबार, भदौ २६, २०८३
Follow us:

सडकपेटीमै बच्चा जन्माएको घटनाले स्वास्थ्य प्रणालीमाथि प्रश्न : तोसिमा कार्की

सडकपेटीमै बच्चा जन्माएको घटनाले स्वास्थ्य प्रणालीमाथि प्रश्न : तोसिमा कार्की

  • सत्य खबर नेपाल

  • शुक्रबार, भदौ २६, २०८३

  • 0 View
    SHARES
सडकपेटीमै बच्चा जन्माएको घटनाले स्वास्थ्य प्रणालीमाथि प्रश्न : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले संविधानले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरे पनि कागजमा रहेको निःशुल्क स्वास्थ्य सेवा र नागरिकले व्यवहारमा पाउने सेवाबीच ठूलो अन्तर रहेको बताइन्।

उनले प्रसव पीडामा अस्पताल पुगेकी महिलालाई तत्काल ट्रायज, इमर्जेन्सी क्लिनिकल असेसमेन्ट र मटर्नल–फिटल इभ्यालुएसन गरी आवश्यक उपचार तथा निरन्तर निगरानीमा राख्नुपर्ने बताइन्।

अस्पतालमा पुगेकी बिरामी सम्पर्कविहीन हुँदा खोजी नगर्नु तथा परिवारलाई समेत सम्पर्क नगर्नु गम्भीर लापरबाही भएको उनको भनाइ थियो। बिरामी बेडमा नभेटिए तत्काल खोजी गर्ने र फारममा उपलब्ध फोन नम्बरमार्फत परिवारलाई सम्पर्क गर्नुपर्ने उनले बताइन्।

कार्कीले आमा सुरक्षा कार्यक्रमलाई ‘कम्प्लिट मटर्नल प्याकेज’ का रूपमा विस्तार गर्न माग गरिन्। प्रसूति तथा शिशु सेवासँगै आवश्यक परीक्षण, औषधि, उपचार, भिडियो एक्सरे, सुत्केरीपछिको सेवा र परिवार नियोजनसम्मका सेवा समेटिनुपर्ने उनको भनाइ छ।

गरिब तथा आर्थिक रूपमा कमजोर बिरामीले आफैँ पैसा जुटाउनुपर्ने अवस्था अन्त्य गर्दै प्रत्येक अस्पतालमा २४ सै घण्टा सक्रिय सामाजिक सेवा एकाइ राख्नुपर्ने उनले बताइन्।

त्यस्तै, प्रत्येक अस्पतालमा विस्तृत मटर्नल केयर अडिट गरी बिरामी अस्पताल आइपुगेको समय, ट्रायज भए/नभएको, उपचार प्रक्रिया र त्यसको परिणामसम्म अभिलेख राखेर नियमित मूल्यांकन तथा नियमन गर्नुपर्ने कार्कीको माग छ।

उनले भनिन्, ‘सडकपेटीमा एउटी आमाले बच्चा जन्माउनुपरेको दृश्यले हाम्रो मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड हामीसामु ल्याइदिएको छ।’


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology