शुक्रबार, बैशाख ४, २०८३
Follow us:

शिक्षामन्त्री सस्मित पोखरेल: २४ करोड सम्पत्ति सार्वजनिक

शिक्षामन्त्री सस्मित पोखरेल: २४ करोड सम्पत्ति सार्वजनिक

  • सत्य खबर नेपाल

  • आइतवार, चैत्र २९, २०८२

  • 17
    SHARES
शिक्षामन्त्री सस्मित पोखरेल: २४ करोड सम्पत्ति सार्वजनिक

२९ चैत, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणमा शिक्षामन्त्री सस्मित पोखरेल को उल्लेखनीय सम्पत्ति देखिएको छ।

सार्वजनिक विवरणअनुसार पोखरेलले व्यक्तिगत तथा पारिवारिक संयुक्त नाममा रहेको अचल सम्पत्ति करिब २० करोडभन्दा बढी रहेको उल्लेख गरेका छन्। काठमाडौं, ललितपुर र मोरङका विभिन्न ७ स्थानमा घरजग्गा रहेको छ, जसको कुल मूल्य करिब साढे २० करोड रुपैयाँ रहेको जनाइएको छ।

काठमाडौं वडा नं. ४ मा आमा मिनाक्षी ओझाको नाममा करिब ४ करोड रुपैयाँ मूल्यको घर र कागेश्वरी मनोहरामा करिब ५ करोड रुपैयाँ बराबरको अर्को घर रहेको छ। साथै तीन जिल्लामा रहेका अन्य जग्गाको कुल मूल्य करिब ११ करोड ५० लाख रुपैयाँ रहेको उल्लेख छ।

सुन–चाँदीतर्फ, पोखरेलसँग २५ तोला सुन (करिब ७५ लाख रुपैयाँ बराबर) र १०० तोला चाँदी रहेको छ। बैंक मौज्दाततर्फ, उनको खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ रहेको छ भने डलर खातामा ५ अमेरिकी डलर रहेको विवरणमा उल्लेख गरिएको छ।

लगानीतर्फ, पारिवारिक सदस्यहरूसहित विभिन्न कम्पनीमा शेयर लगानी गरिएको छ। पीएमएस होल्डिङ्समार्फत करिब ३० लाख रुपैयाँ बराबरको शेयर रहेको छ भने बुवा रमेशकुमार पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबरको लगानी रहेको छ। त्यस्तै आमा मिनाक्षी ओझाको नाममा ५० लाख रुपैयाँ बराबरको बचतपत्र रहेको छ। अन्य कम्पनीहरूमा समेत गरी करिब १ करोड ८० लाख रुपैयाँ बराबरको शेयर लगानी रहेको देखिन्छ।

ऋणतर्फ, पोखरेल र उनकी आमाको नाममा कुल ७५ लाख रुपैयाँ कर्जा रहेको छ। जसमा हिमालयन बैंकबाट २५ लाख र माछापुच्छ्रे बैंकबाट ५० लाख रुपैयाँ लिएको उल्लेख गरिएको छ।

सवारीसाधनतर्फ, उनका नाममा करिब ७० लाख रुपैयाँ मूल्यको विद्युतीय सवारी र करिब ४० लाख रुपैयाँ बराबरको BYD Dolphin कार रहेको छ।

सम्पत्ति विवरणअनुसार पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ रहेको छ भने ७५ लाख रुपैयाँ ऋण कटाउँदा खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ पुगेको देखिन्छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology