काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याउन लागेको पहिलो बजेट भएकाले यसको आकार, प्राथमिकता र राजनीतिक सन्देशप्रति सबैको चासो रहेको छ।
तर बजेट भाषणका क्रममा प्रधानमन्त्री शाह स्वयं संसद्मा उपस्थित हुन्छन् वा हुँदैनन् भन्ने विषय पनि उत्तिकै चर्चामा छ। अर्थमन्त्रीले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा प्रधानमन्त्रीको उपस्थितिबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
प्रधानमन्त्री शाह बिहान गणतन्त्र दिवसका अवसरमा नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सहभागी भएका थिए। तर, दिउँसो हुने बजेट प्रस्तुतिका लागि उनी संसद् भवन पुग्ने–नपुग्ने विषयमा प्रधानमन्त्रीको सचिवालयले पनि निश्चित जवाफ दिएको छैन।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दा प्रधानमन्त्री बालेन बीचमै बाहिरिएका थिए। पछि नीति तथा कार्यक्रम टेबल गर्ने समयमा भने उनी संसद् भवन पुगेका थिए। त्यसयता प्रधानमन्त्री शाह संसद् बैठकमा सहभागी नभएको भन्दै विपक्षी दलहरूले निरन्तर प्रश्न उठाउँदै बिरोध गर्दै आएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै आएका छन्। यही मागका कारण पछिल्ला संसद् बैठकहरू पटक–पटक प्रभावित हुँदै आएका छन्।
आज बजेट प्रस्तुतिको दिन भएकाले प्रधानमन्त्रीको उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। विपक्षी दलले उठाइरहेका प्रश्न, सरकारको प्राथमिकता र बजेटमार्फत दिन खोजिएको सन्देशका बीच प्रधानमन्त्री शाह संसद्मा देखिन्छन् वा अनुपस्थित रहन्छन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।