सोमवार, साउन ११, २०८३
Follow us:

कानुन निर्माणका प्राथमिकताबारे श्रममन्त्रीसँग कानुनमन्त्री गौतमको छलफल

कानुन निर्माणका प्राथमिकताबारे श्रममन्त्रीसँग कानुनमन्त्री गौतमको छलफल

  • सत्य खबर नेपाल

  • बिहिबार, असार ४, २०८३

  • 37
    SHARES
कानुन निर्माणका प्राथमिकताबारे श्रममन्त्रीसँग कानुनमन्त्री गौतमको छलफल

काठमाडौं, ४ असार । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम ले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग कानून निर्माणका प्राथमिकता र लक्ष्य निर्धारणबारे छलफल गरेकी छन्।

बिहीबार भएको छलफलमा मन्त्री गौतमले आगामी दिनमा आवश्यक पर्ने कानुनहरूको प्राथमिकताक्रम निर्धारण गरी समयमै विधेयक तयार गर्न आग्रह गरिन्। उनले कानून निर्माणका लक्ष्य महत्वाकांक्षी मात्र नभई प्राप्त गर्न सकिने, व्यावहारिक र कार्यान्वयनयोग्य हुनुपर्नेमा जोड दिइन्।

कानुन निर्माणको सूची तयार गर्दा समयसीमा यथार्थपरक हुनुपर्ने तथा सबै मन्त्रालयबीच समान बुझाइ विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो। कानून निर्माणसम्बन्धी योजना स्पष्ट, व्यवहारिक र समयमै सम्पन्न हुनेगरी अघि बढाउनुपर्नेमा पनि उनले जोड दिइन्।

मन्त्रालयका अनुसार हालसम्मका विधेयकहरूको अवस्था तथा आगामी लक्ष्यबारे साझा बुझाइ विकास गर्न बैठक आयोजना गरिएको हो। यसअघि मन्त्री गौतमले विज्ञान, प्रविधि तथा नवप्रवर्तन, अर्थ, गृह तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग पनि यस्तै छलफल गरिसकेकी छन्।

छलफलका क्रममा मन्त्री यादवले युवासँग सम्बन्धित विश्वव्यापी नयाँ चुनौती र मुद्दाहरूलाई सम्बोधन गर्ने गरी कानून तथा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। रोजगारीको अवधारणा परिवर्तन हुँदै गएकाले आन्तरिक रोजगारी प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने उनको भनाइ थियो।

उनले आवश्यक कानुन र बजेट अभावका कारण मन्त्रालयका धेरै योजना तथा लक्ष्य कार्यान्वयन हुन नसकेको गुनासोसमेत गरे। राष्ट्रिय रोजगारीको विषय महत्वपूर्ण भए पनि हालसम्म स्पष्ट राष्ट्रिय रोजगार नीति र कानुनको अभाव रहेकोप्रति उनले चिन्ता व्यक्त गरे।

मन्त्री गौतमले सरकारको सयबुँदे कार्ययोजनाअनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण तथा विद्यमान कानुन संशोधनका लागि अन्तर–मन्त्रालय छलफललाई निरन्तरता दिइरहेको बताएकी छन्। साथै, आगामी आर्थिक वर्षमा संसदमा पेस गरिने विधेयकहरूको सूची असार मसान्तभित्र बुझाउन मन्त्रालयहरूलाई निर्देशनसमेत दिइरहेकी छन्।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology