काठमाडौँ, असार ९ गते
नेपाल सरकारले एकै पटक १५ वटा विश्वविद्यालयको ऐन संशोधन गर्न लागेको छ। हाल सञ्चालनमा रहेका १५ वटै विश्वविद्यालयको छुट्टाछुट्टै ऐन रहेका छन्।
विश्वविद्यालयसँग सम्बन्धित धेरै पुराना र अव्यावहारिक व्यवस्थालाई सरकारले एउटै कानुनमार्फत संशोधन गर्न लागेको हो। यी ऐन सशोधन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ तयार गरेको छ।
बदलिँदो राजनीतिक परिस्थिति अनुसार विश्वविद्यालयका लागि आफू अनुकूलको कानुन बनाउन ऐन संशोधन गर्न लागिएको हो। ऐन संशोधनसम्बन्धी विधेयकमा हरेक विश्वविद्यालयमा पदाधिकारी नियुक्ति तथा उनीहरूका लागि आवश्यक योग्यता तथा अनुभवको विषयलाई समेटिएको छ। मन्त्रालयले उक्त विधेयकमा आवश्यक सुझाव पेस गर्नसर्वसाधारणलाई अनुरोधसमेत गरेको छ। मन्त्रालयले आफ्नो वेबसाइटमा उक्त विधेयकको मसौदा सार्वजनिक गर्दै सुझाव मागेको हो।
मसौदामा विभिन्न विश्वविद्यालयका लागि आवश्यक पर्ने उपकुलपति, शिक्षाध्यक्ष. रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन, उपकुलपति. शिक्षाध्यक्ष, रजिस्ट्रारको योग्यताका विषयमा पनि सुझाव मागिएको छ।
यी पदमा नियुक्तिका लागि मस्यौदा पनि छुट्टै प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार केही समय अघि सरकारले ल्याएको विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश. २०८३ मा समेटिएका व्यवस्थालाई नयाँ कानुन ल्याउन लागेको हो।
सरकारले सिफारिस गरेको यो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते प्रमाणीकरण गर्नुभएको थियो। नयाँ विधेयकको मसौदामा असार ८ गतेभित्रमा आवश्यक सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ।
संशोधन हुने विश्वविद्यालय ऐनहरू
१. नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३
२. काठमाडौँ विश्वविद्यालय ऐन, २०४८
३. त्रिभुवन विश्वविद्यालय ऐन, २०५९
४. पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५०
५. पोखरा विश्वविद्यालय ऐन, २०५३
६. लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३
७. सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७
८. मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७
९. कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन. २०६७
१०. नेपाल खुला विश्वविद्यालय ऐन, २०७३
११. राजर्षि जनक विश्वविद्यालय ऐन, २०७४ विदूषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय, २०७९
१२. मदन भण्डारी विश्वविद्यालय ऐन, २०७९
१३. नेपाल विश्वविद्यालय ऐन, २०८१
१४.सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२
१५. नेपाल विश्वविद्यालय ऐन, २०८१