काठमान्डौं भदौ २५ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार संविधान अनुसार चल्न नसकेको बताएका छन् ।
उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सल्लाहकार कुमार बेन (व्यञ्जनकार)ले चलाएको भन्दै आपत्ति जनाए । सरकारको केन्द्र सिंहदरबार भनेर आफूले बुझे पनि सरकारको केन्द्र ज्वागल (कुमार बेनको घर ललितपुरको ज्वागल हो) बनेको र हुकुमी शासन चलिरहेको भन्दै कटाक्ष गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्रीले शासन शैली ‘गुण्डा शैली’को भएको टिप्पणी गरे । साथै, संविधानले समावेशीको ग्यारेन्टी गरे पनि गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता विषयमा प्रहार भइरहेको सिंहले उल्लेख गरे ।
‘प्रधानमन्त्री शासन व्यवस्था संविधानमा भए पनि सल्लाहाकार व्यवस्था भएको छ । यो संविधानको कुन दफामा छ ?‚’ उनले भने‚ ‘मलाई लाग्दैन उहाँको सल्लाहकार हार्भड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको हो ।’
उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजीलाई बोलाएर प्रधानमन्त्रीका सल्लाहकारले ‘कन्चटमा पेस्तोल’ देखाएको गम्भीर आरोप समेत लगाए ।
‘प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीलाई अधिकार हुन्छ । तर मन्त्री समाउन प्रधानमन्त्रीले पुलिस पठाउँछन्‚’ उनले भने‚ ‘यो सचिवालयको केही साथीहरूको कुरा सुन्दा म अचम्म पर्छु । गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन ।’
उनले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको नभई उनलाई बर्खास्त गरिएको पनि टिप्पणी गरे । सांसद सिंहले राज्य मधेशीप्रति अनुउत्तरदायी भएको भन्दै उनले भने‚ ‘मैले तपाईंका लागि बोलेको थिएँ यो सरकार बनेन भने आत्मदाह गर्छु । यही ठाउँबाट भन्छु- तपाईं मधेशीलाई तवाह गर्नुहुन्छ भने तपाईंको नास लेखेको छ ।’