२५ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।
बुधबार संसदीय समितिको बैठकमा ग्यास अभावबारे छलफलका क्रममा मन्त्री यादवले ग्यास उद्योगीप्रति विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनले काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव उद्योगीहरूकै कारण भएको दाबी गर्दै समस्या समाधानका लागि ग्यास उद्योगीको ‘पाता नकसेसम्म’ अभाव सहज नहुने बताएकी थिइन्।
यादवले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने धारणा समेत राखेकी थिइन्। ‘देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, दुईवटा मात्रै भए पुग्छ’ भन्ने उनको अभिव्यक्तिको उद्योगीहरूले विरोध गरेका थिए।
उद्योगीहरूले मन्त्रीको अभिव्यत्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए। मन्त्रीको अभिव्यक्तिपछि सरकार र ग्यास उद्योगीबीचको विवाद थप चर्किएको थियो।
यसैबीच काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। उपभोक्ताहरू एउटा सिलिन्डर ग्यासका लागि घण्टौं लाइनमा बस्न बाध्य छन्। ग्यास पाइहाले पनि निर्धारित मूल्यभन्दा महँगो तिर्नुपरेको उपभोक्ताहरूको गुनासो छ।
नेपाल आयल निगम र उद्योग मन्त्रालयले नियमित रूपमा ग्यास आयात तथा आपूर्तिको तथ्यांक सार्वजनिक गर्दै आए पनि बजारमा भने त्यसअनुसार सहज आपूर्ति हुन नसकेको अवस्था छ।
गत १४ भदौदेखि कृष्णभीरमा सडक भासिएपछि ग्यास ढुवानीमा समेत समस्या आएको थियो। वैकल्पिक मार्गबाट ग्यास ल्याइए पनि उपभोक्तासम्म सहज रूपमा पुग्न नसक्दा अभाव झन् जटिल बनेको हो।
समस्या समाधानका लागि सरकार र मन्त्रालयले प्रभावकारी व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला मन्त्री यादवको संसदीय समितिमा आएको अभिव्यक्तिले विवाद थप चर्काएको थियो।
मन्त्री यादवले आफूले उद्योगीलाई कारबाही गर्न खोज्दा आफ्नै मन्त्रालयका कर्मचारीबाट समेत असहयोग भएको भन्दै समितिमा असन्तुष्टिसमेत व्यक्त गरेकी थिइन्।
यही पृष्ठभूमिमा उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्।