शनिबार, बैशाख ५, २०८३
Follow us:

पत्रकार दिलभूषण पाठकविरुद्ध अदालतमा साइबर क्राइमको मुद्दा दर्ता

पत्रकार दिलभूषण पाठकविरुद्ध अदालतमा साइबर क्राइमको मुद्दा दर्ता

  • सत्य खबर नेपाल

  • सोमवार, असार १६, २०८२

  • 132
    SHARES
पत्रकार दिलभूषण पाठकविरुद्ध अदालतमा साइबर क्राइमको मुद्दा दर्ता

काठमाडौं। पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार (साइबर क्राइम) को मुद्दा दर्ता भएको छ। आज सोमबार जिल्ला अदालत काठमाडौँमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालत लगेको हो।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको भन्ने दाबीमा आधारित ब्रिफिङ सामग्री युट्युबमा प्रसारण गरेका थिए।

उक्त कार्यक्रम भिडिओ, स्क्रिनसट, कागजातहरू पनि अभियोगपत्रका साथ पेस गरिएको छ। तर, प्रहरीले पाठकसँग भने बयान लिएको छैन। जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर साइबर ब्युरोले अनुसन्धान गर्ने तयारी गरे पनि उच्च अदालतले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

सोहीकारण पाठकको बयानसमेत नगराई अदालतमा अभियोगपत्र बुझाइएको छ। उनलाई विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गत सजाय माग गरिएको छ। उनीविरुद्ध देउवा परिवारले उजुरी दिए पनि अभियोगपत्रमा जाहेरवालाको नाम उल्लेख छैन।

विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुरमा सजाय हुन माग दाबी गरिएको छ। यस्तै हाल फरार भनिएका पाठकलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ५७ बमोजिम अदालतबाट पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ।

दफाअनुसार कसुरदार ठहरिए १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। पाठकबाट जाहेरवालालाई क्षतिपूर्तिसमेत भराउन माग गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology