काठमाडौं, नेपाल ल क्याम्पस — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य आदित्य मिश्रको संयोजकत्वमा “Learning to Earning” (सिकाइबाट आम्दानीतर्फ) भन्ने मूल नारासहित ३ दिने निःशुल्क शेयर बजार तालिम सम्पन्न भएको छ।
कानून संकायका बीएएलएलबी, एलएलबी तथा एलएलएम तहका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित तालिम Online Securities Limited (ब्रोकर नं. ४९), Citizen Share Broker (ब्रोकर नं. ९१) तथा Himalayan Brokerage Company (ब्रोकर नं. ६३) को सहकार्यमा सम्पन्न गरिएको हो।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई शेयर बजारसम्बन्धी आधारभूत ज्ञान, लगानी सीप तथा आर्थिक साक्षरता प्रदान गर्नु रहेको थियो। तालिममा शेयर बजारको परिचय, डिम्याट खाता खोल्ने प्रक्रिया, दोस्रो बजारमा लगानी गर्ने तरिका, जोखिम व्यवस्थापन तथा लगानी रणनीतिबारे व्यावहारिक र सैद्धान्तिक प्रशिक्षण दिइएको थियो।
सहभागी विद्यार्थीहरूले तालिमलाई उपयोगी, प्रभावकारी तथा समयानुकूल भएको प्रतिक्रिया दिएका छन्। संयोजक आदित्य मिश्राले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै आर्थिक रूपमा सक्षम बनाउन यस्ता सीपमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।
नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले यस तालिमले विद्यार्थीहरूको आर्थिक चेतना र लगानी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।

