आइतवार, भदौ २१, २०८३
Follow us:

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई र कुमारी बैंकको सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई र कुमारी बैंकको सहयोग

  • सत्य खबर नेपाल

  • बिहिबार, भदौ ११, २०८३

  • 5
    SHARES
भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई र कुमारी बैंकको सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ग्लोबल आइएमई बैंकले ५ करोड रुपैया र कुमारी बैंकले ३ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरी ८ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन्।

ग्लोबल आइएमई बैंक लिमिटेडले बाढी प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बैंकले उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराउन लागेको जनाएको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा व्यापक कटान र डुबान भएको छ। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको, कैयौँ नागरिक बेपत्ता भएको तथा सयौँ परिवार विस्थापित हुनुपरेको बताइएको छ। बाढीले स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनासमेत क्षतिग्रस्त बनाएको छ।

ग्लोबल आइएमई बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराउन लागेको बैंकले जनाएको छ।

यसैबीच कुमारी बैंक लिमिटेडले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ नगद सहयोग गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका उच्च अधिकारीहरूले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गरी रसुवालगायत बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका काम अघि बढाउने जनाएको छ।

राष्ट्रिय विपद्को यस कठिन समयमा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट प्राप्त सहयोगले प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology