बिहिबार, भदौ २५, २०८३
Follow us:

विपद्को सामना गर्न सबै दल एकजुट हुने, संसदीय समिति गठनको सहमति

विपद्को सामना गर्न सबै दल एकजुट हुने, संसदीय समिति गठनको सहमति

  • सत्य खबर नेपाल

  • बिहिबार, भदौ ११, २०८३

  • 5
    SHARES
विपद्को सामना गर्न सबै दल एकजुट हुने, संसदीय समिति गठनको सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरू विपद्को सामना गर्न एकजुट भएर अघि बढ्ने सहमतिमा पुगेका छन्।

बैठकमा विपद्को समयमा राजनीतिक पक्ष–विपक्षभन्दा माथि उठेर खोज, उद्धार तथा राहत कार्यमा केन्द्रित हुने सहमति भएको हो।

बैठकपछि नेताहरूले नेपालमा विगतमा पनि राष्ट्रिय संकटका बेला राजनीतिक दलहरू एक ठाउँमा उभिएको उदाहरण रहेको उल्लेख गर्दै अहिलेको विपत्तिमा समेत सबै दल मिलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले हालसम्म गरेका खोज तथा उद्धारका कामबारे बैठकमा जानकारी लिइएको र आफूहरूले प्राप्त गरेका सूचनासमेत सरकारलाई उपलब्ध गराइएको बताए।

उनले अहिलेको पहिलो प्राथमिकता खोज, उद्धार र राहत रहेको उल्लेख गर्दै सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरे पनि त्यसले मात्रै पर्याप्त नहुने बताए। राज्यसँग उपलब्ध सबै स्रोतसाधन परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

‘राजनीतिक दल, निजी क्षेत्रलगायत सबै सरकारका स्टेकहोल्डर हुन् । जोसँग जे स्रोतसाधन छ, त्यसलाई परिचालन गरौँ,’ थापाले भने।

नेकपा संयोजक पुष्पकमल दाहालले विपद्को समयमा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए। आफूहरू त्यसका लागि एकताबद्ध रहेको उल्लेख गर्दै उनले अहिलेको विपद्ले राष्ट्रिय एकताका लागि समेत महत्वपूर्ण पाठ सिकाउने बताए।

संसदीय समिति गठन गर्ने सहमति

बैठकमा विपद्का समयमा सबै राजनीतिक दललाई एउटै संयन्त्रमा जोडेर काम गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले पक्ष र विपक्ष भन्ने अवस्था नरहेको भन्दै सबै राजनीतिक दललाई एउटै ठाउँमा राखेर समन्वय गर्न संसदीय समिति गठन गर्न लागिएको बताए।

‘अहिले यहाँ पक्ष–विपक्ष कोही छैन । सबै राजनीतिक दललाई एकै ठाउँमा राख्नका लागि संसदीय समिति बनाउने सहमति भएको छ,’ लिङ्देनले भने।

देश–विदेशबाट आउने सहयोग एकद्वार प्रणालीबाट

सर्वदलीय बैठकले विपद् प्रभावितका लागि देश तथा विदेशबाट प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्न सरकारलाई सुझाव दिएको छ।

लिङ्देनका अनुसार एकद्वार प्रणालीबाट सहयोग परिचालन गर्दा दोहोरोपन हट्नुका साथै वास्तविक प्रभावितसम्म राहत प्रभावकारी रूपमा पुर्‍याउन सहज हुनेछ।

उनले देश–विदेशमा रहेका नेपालीलाई विपद् प्रभावितका लागि सहयोग गर्न राजनीतिक दलहरूको तर्फबाट समेत आग्रह गरिएको बताए।

बैठकमा विपद् प्रभावित क्षेत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको अनावश्यक भीड नलैजाने र उद्धार तथा राहत कार्यमा प्रत्यक्ष असर नपर्ने गरी समन्वय गर्ने विषयमा समेत सहमति भएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology