बिहिबार, भदौ २५, २०८३
Follow us:

भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम, तटीय क्षेत्रमा ‘हाइ अलर्ट’

भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम, तटीय क्षेत्रमा ‘हाइ अलर्ट’

  • सत्य खबर नेपाल

  • बिहिबार, भदौ ११, २०८३

  • 4
    SHARES
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम, तटीय क्षेत्रमा ‘हाइ अलर्ट’

काठमाडौं । भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने भन्दै सरकारी निकायले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चीनतर्फ नदी थुनिएर बनेको ठूलो ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम देखिएपछि तटीय क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गरिएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरेका छन्।

चीन सरकारले नेपालको परराष्ट्र मन्त्रालयमार्फत पठाएको पछिल्लो सूचना तथा भू–उपग्रहबाट प्राप्त तस्बिरहरूको प्रारम्भिक विश्लेषणअनुसार यसअघि बाढी सिर्जना भएको स्थानमै नदी थुनिएर ठूलो ताल बनेको देखिएको छ।

प्राविधिक विश्लेषणअनुसार उक्त तालको आकार बढ्दै गएकाले जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको छ। ताल फुटेमा भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा रहेका बस्तीहरू थप जोखिममा पर्न सक्ने जनाइएको छ।

नदी किनारमा यात्रा नगर्न आग्रह

बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। नदी आसपास यात्रा गरिरहेका यात्रुहरूलाई समेत विशेष सतर्कता अपनाउन र नदी किनारका सडकमा यात्रा नगर्न अनुरोध गरिएको छ।

विशेषगरी नदीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनारमा जाने, फोटो तथा भिडियो खिच्ने वा जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा बस्ने कार्य नगर्न सुरक्षा निकायले आग्रह गरेका छन्।

उद्धार टोलीलाई समेत सतर्कता

बाढीको जोखिमका कारण उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्ताहरूलाई समेत जोखिमयुक्त क्षेत्रबाट सुरक्षित रहन आग्रह गरिएको छ।

यसअघि चीनको विदेश मन्त्रालयले नदी थुनिएर बनेको जलाशय तीन दिनभित्र फुट्न सक्ने चेतावनी दिएको थियो। त्यसपछि नेपाली सुरक्षा तथा विपद् व्यवस्थापन निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा सतर्कता बढाएका हुन्।

सरकारी निकायले नागरिकलाई आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन मात्र पालना गर्न तथा अफवाहका आधारमा जोखिमपूर्ण स्थानतर्फ नजान आग्रह गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology