बिहिबार, भदौ २५, २०८३
Follow us:

जेन–जी आन्दोलन हिंसात्मक बनाउने षड्यन्त्रकारी पहिचान गर्न पोखरेलको माग

जेन–जी आन्दोलन हिंसात्मक बनाउने षड्यन्त्रकारी पहिचान गर्न पोखरेलको माग

  • सत्य खबर नेपाल

  • मङ्लबार, भदौ २३, २०८३

  • 0 View
    SHARES
जेन–जी आन्दोलन हिंसात्मक बनाउने षड्यन्त्रकारी पहिचान गर्न पोखरेलको माग

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा घाइते र सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गरेका हुन्।

उनले भ्रष्टाचार नियन्त्रण, सुशासन, सहज सेवा प्रवाह तथा सामाजिक सञ्जालको निर्वाध प्रयोगको माग जायज रहेको बताएका छन्। यी मागहरू सबैको साझा सरोकारका विषय भएको उनको भनाइ छ।

पोखरेलले तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको दाबी गर्दै नेपालमा दर्ता हुनुपर्ने नीति अगाडि बढाएको विषय स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको उल्लेख गरेका छन्।

उनले जेन–जी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनु नै आन्दोलनको वास्तविक भावनाको सम्मान हुने बताएका छन्।

वर्तमान सरकार जेन–जी आन्दोलनको भावनाअनुसार नभई आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको आरोपसमेत पोखरेलले लगाएका छन्। उनका अनुसार अहिले नवयुवाको भावनाको कदर, सुशासनको प्रत्याभूति र विधिको शासन स्थापना गर्नु प्रमुख आवश्यकता हो।

एमाले नवयुवाका जायज माग सम्बोधन गर्न उनीहरूसँग मिलेर अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्दै पोखरेलले पार्टी हिजो, आज र भविष्यमा पनि नवयुवाको पक्षमा रहने दाबी गरेका छन्। हिजो माग सम्बोधनमा कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्न एमाले प्रतिबद्ध रहेको उनको भनाइ छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology