२३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गरेको आरोप लगाएका छन्। जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दलका नेताहरूलाई आफ्नो सोच र कार्यशैली सुधार्न चेतावनी दिएका हुन्।
गृहमन्त्री गुरुङले जेनजी आन्दोलन इतिहासको महत्वपूर्ण घटना भएकाले त्यसलाई कसैले परिवर्तन गर्न नसक्ने बताए। आन्दोलनलाई अपमान गर्नु भनेको देशका नागरिकको भावनालाई अपमान गर्नु भएको उनको भनाइ थियो।
‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ। त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन,’ उनले भने, ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले ३ करोड नेपाली जनतालाई अपमान गरिरहनुभएको छ। त्यसैले सुध्रिनुस्, अझै पनि समय छ। पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन।’
उनले आफूहरू सत्ताको लोभ वा शक्तिको घमण्डका कारण राजनीतिमा नआएको दाबी गरे। जनताले जिताएर आफूहरूलाई जिम्मेवारी दिएको उल्लेख गर्दै उनले जिम्मेवारी निर्वाहमा कुनै कमजोरी नहोस् भनेर आफू निरन्तर सचेत रहेको बताए।
‘मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा म चिन्तित हुन्छु,’ उनले भने। आफू मात्र नभई सरकारका सबै मन्त्रीले जिम्मेवारीअनुसार काम गरिरहेको उनको दाबी थियो।
गृहमन्त्री गुरुङले सुशासनको पक्षमा आवाज उठाउने क्रममा युवाहरूमाथि तत्कालीन सरकारले गोली चलाएको आरोपसमेत लगाए। वर्तमान सरकारले जेनजी आन्दोलनका माग र भावनालाई सम्बोधन गर्ने गरी काम गरिरहेको उनले बताए।