काठमाडौँ । सर्वोच्च अदालतमा विकसित पछिल्लो घटनाक्रमको विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न नेपाल बार एसोसिएसनले पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ। सोमबार बस्ने गरी उक्त बैठक आह्वान गरिएको हो।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको विरोधमा दायर हुन आएको रिट निवेदनलाई सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको र लामो समयसम्म होल्डमा राखेको विषयलाई लिएर बारको आकस्मिक बैठक बस्न लागेको बारका महासचिव केदार कोइरालाले जानकारी दिए।
महासचिव कोइरालाका अनुसार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले जारी गरेको आदेश र त्यसको परिपालनाको अवस्था, एवं प्रतिनिधि सभामा केही सांसदहरूले व्यक्त गरेका धारणा लगायतका गम्भीर विषयहरूमा छलफल गर्न यो बैठक बोलाइएको हो।

सोमबार कामु प्रधानन्यायाधीश मल्लले लामो समयदेखि रोकिएका केही रिट एवं निवेदनहरू तत्काल दर्ता गरी मङ्गलबारका लागि पेसी तोक्न न्याय प्रशासनलाई निर्देशन दिएकी थिइन्। तर, सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीशको उक्त आदेश पालना नगरेको भन्दै नेपाल बारले गम्भीर आपत्ति जनाउँदै आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।