काठमाडौं । गणतन्त्र दिवसका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित गणतन्त्र दिवश समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए भने प्रधानमन्त्री बालेन्द्र शाहले उपस्थिति जनाएका थिए ।
समारोह आयोजनाका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन हुन्छ र गृह मन्त्रालयसँगको समन्वयमा प्रधानमन्त्री कार्यालयले कार्यक्रमको व्यवस्थापन गर्छ ।समारोह आयोजनाका लागि प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको र गृह मन्त्रालयसँगको समन्वयमा प्रधानमन्त्री कार्यालयले कार्यक्रमको व्यवस्थापन गरेको हो ।सम्बोधनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा रअभिभारा भएको बताएका छन्।

राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै भने, ‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ, यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमीको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो।’ उनले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ सम्बृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकतावद्ध भएर लाग्ने पनि बताए। राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक व्यवस्था होइन, यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो भनेका छन्। ‘यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई विर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौं, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्वृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्न प्रेरणा देओस्’, उनले भने। मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको र यसले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको उनले बताए। साथै, उनले शासकीय सुधारका एक सय कार्यसूचिलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गरेका थिए। ‘हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हुँदैनन्, यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ, अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन’, उनले भने। उनले आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति भएको बताए। उनले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यीनै वेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ भन्नेमा जोड दिए। ‘जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँंग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पुरा हुँदैन’, उनले भने।
