
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनबाट प्रतिनिधिसभा सदस्य बुद्धि बहादुर पन्त (हरि पन्त) जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धतासहित सम्पन्न अधिवेशनबाट पन्त जिल्ला सभापतिमा चयन भएका हुन्। यसअघि पनि पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पन्त हाल पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

नवनिर्वाचित सभापति पन्तले पर्सामा रास्वपालाई अझ सशक्त बनाउँदै जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले नयाँ नेतृत्वले पार्टी संगठन विस्तार, सुशासन तथा जनउत्तरदायी राजनीतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

नयाँ नेतृत्व चयनसँगै रास्वपा पर्साले संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।