
काठमाडौं, २६ जेठ । सरकारले विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। भण्डारी यसअघि नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।
सरकारले नेपाल रेडक्रस सोसाइटीको संगठनात्मक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा संस्थाको नियमित गतिविधिलाई सुचारु रूपमा सञ्चालन गर्ने उद्देश्यले तदर्थ समिति गठन गरेको जनाएको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै नवगठित तदर्थ समितिले नेपाल रेडक्रस सोसाइटीको नेतृत्व सम्हाल्दै संस्थाका आगामी गतिविधि तथा व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछ।