शनिबार, जेष्ठ ३०, २०८३
Follow us:

अनेरास्ववियुले बुझायो उपत्यका ट्राफिक महाशाखालाई ज्ञापनपत्र, यातायातमा विद्यार्थी सहुलियत ४५ प्रतिशत छुट कार्यान्वयन गर्न माग

अनेरास्ववियुले बुझायो उपत्यका ट्राफिक महाशाखालाई ज्ञापनपत्र, यातायातमा विद्यार्थी सहुलियत ४५ प्रतिशत छुट कार्यान्वयन गर्न माग

  • सत्य खबर नेपाल

  • बिहिबार, जेष्ठ २८, २०८३

  • 22
    SHARES
अनेरास्ववियुले बुझायो उपत्यका ट्राफिक महाशाखालाई ज्ञापनपत्र, यातायातमा विद्यार्थी सहुलियत ४५ प्रतिशत छुट कार्यान्वयन गर्न माग

काठमाडौं, जेष्ठ २८ । अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले सार्वजनिक यातायातमा विद्यार्थीलाई प्रदान गरिने ४५ प्रतिशत सहुलियत छुटको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न माग गर्दै उपत्यका ट्राफिक प्रहरी महाशाखालाई ज्ञापनपत्र बुझाएको छ।

बिहीबार महाशाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले विद्यार्थी तथा आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा ध्यानाकर्षण गराएको हो। संगठनले उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा विद्यार्थीलाई कानुनअनुसार प्रदान गरिने ४५ प्रतिशत छुट अक्षरशः कार्यान्वयन गर्न विशेष पहल गर्न आग्रह गरेको छ।

ज्ञापनपत्रमा सार्यावजनिक सवारी साधनमा यात्राका क्रममा हुने महिला हिंसा तथा दुर्व्यवहार नियन्त्रणका लागि प्रभावकारी निगरानी तथा सुरक्षा व्यवस्थापन गर्नुपर्ने, क्याम्पस तथा विद्यालय अगाडि जेब्रा क्रसिङ, ट्राफिक लाइट र स्पिड ब्रेकरको उचित व्यवस्थापन गर्नुपर्ने माग उल्लेख गरिएको छ।

त्यसैगरी, विद्यालय तथा क्याम्पस वरपरका क्षेत्रलाई ‘स्कुल/कलेज सेफ्टी जोन’ घोषणा गरी विद्यार्थीमैत्री वातावरण निर्माण गर्न तथा सडक दुर्घटनामा परेका विद्यार्थीहरूको तत्काल उद्धार, उपचार र आवश्यक समन्वयका लागि विशेष संयन्त्र निर्माण गर्नुपर्ने माग पनि संगठनले अघि सारेको छ।

अनेरास्ववियुले विद्यार्थी दुर्घटना सहायता कोष स्थापना गर्न सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याएको छ। संगठनका अनुसार विद्यार्थी सुरक्षासँग जोडिएका विषयहरूमा राज्यको ध्यानाकर्षण गराउनुका साथै दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिनेछ।

अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीका संयोजक रवि मगरले विद्यार्थी तथा आम जनताको जीवनस्तरसँग प्रत्यक्ष सम्बन्धित विषयहरूमा संगठन सधैं अग्रपंक्तिमा रहेको बताए। उनले शिक्षा, यातायात, सुरक्षा तथा नागरिक सरोकारका मुद्दामा अनेरास्ववियुले निरन्तर आवाज उठाउँदै आएको र आगामी दिनमा पनि सक्रिय भूमिका निर्वाह गर्ने बताए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology