काठमाडौं, असार ९ — पत्रकारिता क्षेत्रको विश्वसनीयता र मर्यादामाथि चुनौती थपिँदै गएको भन्दै प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
सोमबार जारी प्रेस विज्ञप्तिमार्फत काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पेशागत मर्यादाविपरीत गतिविधि बढेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। अनुमति बिना विभिन्न कार्यालय, शैक्षिक संस्था वा कार्यक्रममा प्रवेश गर्ने, विवाद सिर्जना गर्ने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने तथा यस्ता गतिविधिलाई सामाजिक सञ्जालमा प्रसारण गर्ने प्रवृत्तिले पत्रकारिताको छविमाथि नकारात्मक असर परेको काउन्सिलको ठहर छ।
काउन्सिलले अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्लेटफर्ममार्फत भ्युज र आम्दानी केन्द्रित भएर तथ्यहीन, भ्रामक, अश्लील तथा गालीगलौजपूर्ण सामग्री उत्पादन र प्रसारण गर्ने कार्य बढ्दै गएको उल्लेख गर्दै यसले पत्रकारिता क्षेत्रको गरिमा र विश्वसनीयतालाई कमजोर बनाएको जनाएको छ।
विज्ञप्तिमा पत्रकारिता सत्य, तथ्य, निष्पक्षता, सन्तुलन र जिम्मेवारीमा आधारित पेशा भएकाले आचारसंहिताको पालना पत्रकारिता क्षेत्रको आधारभूत शर्त भएको उल्लेख गरिएको छ। प्रेस स्वतन्त्रताको सदुपयोगले मात्र पत्रकारितालाई बलियो, जिम्मेवार र जनविश्वासयुक्त बनाउन सक्ने काउन्सिलको भनाइ छ।
काउन्सिलले सूचना प्रविधिको विकाससँगै पत्रकारिताको स्वरूप र अभ्यासमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै बदलिँदो परिवेशमा पत्रकारिता अझ जिम्मेवार, उत्तरदायी र मर्यादित बन्नुपर्ने आवश्यकता औंल्याएको छ। पत्रकारिताको विश्वसनीयता जोगाउन तथा समाजमा सही सूचना प्रवाह सुनिश्चित गर्न पत्रकार आचारसंहिता प्रभावकारी मार्गदर्शक रहेको काउन्सिलको धारणा छ।
प्रेस काउन्सिलले पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन–२०७६) को प्रभावकारी कार्यान्वयनका लागि देशव्यापी अनुगमन, सचेतना तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। साथै, आचारसंहितालाई नेपालीसहित विभिन्न भाषामा प्रकाशन गरी सबै समुदायसम्म पुर्याउने प्रयास जारी रहेको पनि काउन्सिलले उल्लेख गरेको छ।
काउन्सिलले अन्त्यमा जिम्मेवार, स्वच्छ र मर्यादित पत्रकारिताबाट मात्र समाजमा सकारात्मक परिवर्तन र विकासको मार्ग प्रशस्त हुने भन्दै आचारसंहिताको पालनामा सबै सरोकारवालालाई सजग र प्रतिबद्ध बन्न आह्वान गरेको छ।
हेरौं प्रेस विज्ञप्तिः
