काठमाडौं । अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले आज विभिन्न जनसरोकारका विषयलाई केन्द्रित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमार्फत आम शिक्षा, स्वास्थ्य सेवा, आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विद्युत् सेवामा लगाइएको अतिरिक्त कर, बढ्दो महँगीको प्रभाव, विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत सार्वजनिक यातायात छुटको प्रभावकारी कार्यान्वयन, विपद् व्यवस्थापनमा सहकार्य, शिक्षालयभित्र हुने लागूऔषध दुव्र्यसन न्यूनीकरण तथा महिला हिंसा नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइएको अनेरास्ववियुले जनाएको छ।
अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीका संयोजक रवि मगर ले विद्यार्थी तथा आम नागरिकका हक–अधिकार, जनजीविकाका सवाल र सामाजिक उत्तरदायित्वका विषयमा संगठन सधैं अग्रपंक्तिमा रहने बताए।

उनले शिक्षा, स्वास्थ्य, विद्युत् सेवा, यातायात सुविधा तथा सामाजिक सुरक्षासँग सम्बन्धित मुद्दामा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै ज्ञापनपत्रमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको जानकारी दिए।
