काठमाडौं, २६ जेठ । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने सम्भावना बलियो भएको स्रोतहरूले बताएका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको छ। यद्यपि, यस विषयमा प्रतिक्रिया दिँदै पुनले आफूलाई मन्त्री बनाउने विषयमा कुनै औपचारिक जानकारी नआएको बताएका छन्।
उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “मन्त्री बनाउने विषयमा मलाई कुनै जानकारी छैन। कसैले फोन पनि गरेको छैन।”
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा पूँजीगत खर्चको १ प्रतिशत बजेट विनियोजन गर्ने घोषणा गरिसकेको छ। बजेट प्रस्तुत गर्दै स्वर्णिम वाग्ले ले उक्त क्षेत्रलाई प्राथमिकता दिइएको बताएका थिए।
पुनले लामो समयदेखि विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रका लागि पर्याप्त बजेट तथा संस्थागत व्यवस्था आवश्यक रहेको भन्दै आवाज उठाउँदै आएका छन्। उनले मन्त्रालयका लागि स्पष्ट बजेट अनुपात निर्धारण गर्नुपर्ने मागसमेत राख्दै आएका थिए।
यसअघि अन्तरिम सरकारमा समेत पुनले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अब उनी विज्ञान तथा नवप्रवर्तन क्षेत्रको नेतृत्वमा आउने चर्चा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।