१० भदौ, काठमाडौं । प्राकृतिक विपद्का बेला राजनीतिक दलहरूबीच राष्ट्रिय एकता र सहकार्य देखिँदै आएको छ । २०७२ सालको विनाशकारी भूकम्पलगायतका विपद्का समयमा पनि दलहरू एकै ठाउँमा उभिँदै आएका छन् ।
बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरलगायत क्षेत्रका नागरिक प्रभावित भएका छन् ।
विपद्को यस कठिन परिस्थितिमा राजनीतिक दलहरूले उद्धार, राहत, पुनर्स्थापना तथा सम्भावित विपद् न्यूनीकरणका लागि सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरूले विपद्को सामना गर्न सरकारसँग सहकार्य गर्ने साझा धारणा व्यक्त गरेका छन् । उनीहरूले तत्काल उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापना र भविष्यमा आउन सक्ने सम्भावित विपद् रोकथामका लागि पूर्वतयारी तथा दीर्घकालीन नीति निर्माणमा सरकारलाई साथ दिने बताएका छन् ।
प्रतिनिधिसभामा देखिएको यस्तो एकतालाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्च राजनीतिक संस्कारको उदाहरणका रूपमा चित्रण गरेका छन् ।
उनले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर जनताको जीवनरक्षा, उद्धार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । यस्तो राष्ट्रिय संकटका बेला राजनीतिक दलहरूबीच देखिएको सहकार्यले विपद् व्यवस्थापनमा राज्यको क्षमता अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
