बुधबार, अशोज २८, २०८३
Follow us:

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेतामा मनोनीत

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेतामा मनोनीत

  • सत्य खबर नेपाल

  • बिहिबार, अशोज ८, २०८३

  • 20
    SHARES
एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेतामा मनोनीत

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा असोज ५ देखि ८ गतेसम्म बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

बैठकले पार्टीकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको छ। यसअघि सचिवालय बैठकले गरेको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो।

त्यस्तै, बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्यमा चयन गरेको छ। विभिन्न जिल्लाबाट केन्द्रीय कमिटीमा मनोनीत हुन बाँकी सदस्यहरूलाई समेत बैठकले मनोनीत गरेको छ।

बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै विगतका कमी–कमजोरीको समीक्षा गरी पार्टी पुनर्जागरण, सुदृढीकरण तथा सुधार–रूपान्तरणको मार्गचित्र तयार गरेको जनाएको छ। महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा बैठकका निर्णयलाई गम्भीरतापूर्वक बोध गरी निष्ठापूर्वक कार्यान्वयन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरिएको छ।

बैठकले आगामी दिनमा लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीलाई पार्टीका प्रमुख कार्यभारका रूपमा अघि बढाउने निर्णयसमेत गरेको छ। साथै, बाँकी सांगठनिक कामअन्तर्गत स्थायी कमिटीको पूर्णता, पोलिटब्युरो गठन, सल्लाहकार परिषद्, विभाग तथा ज्येष्ठ कम्युनिस्ट मञ्च गठनसम्बन्धी निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ।

बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। जलवायु संकट, संविधान संशोधन, महँगी, राहत तथा सरकारका विभिन्न गतिविधिबारे पनि बैठकले धारणा सार्वजनिक गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology