सोमवार, साउन ११, २०८३
Follow us:

राहदानी छपाइ अनियमितता प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, आरजु देउवा प्रतिवादी होइनन्

राहदानी छपाइ अनियमितता प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, आरजु देउवा प्रतिवादी होइनन्

  • सत्य खबर नेपाल

  • मङ्लबार, असार ९, २०८३

  • 30
    SHARES
राहदानी छपाइ अनियमितता प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, आरजु देउवा प्रतिवादी होइनन्

काठमाडौं, असार ९ – राहदानी छपाइ प्रक्रियामा अनियमितता गरी सार्वजनिक सम्पत्तिलाई गैरकानुनी हानि पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विशेष अदालतले सोमबार जारी गरेको सूचनाअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत प्रतिवादीहरूमाथि कुल १ अर्ब १० करोड १३ लाख ४ हजार ६ सय ४७ रुपैयाँ १ पैसा बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरिएको छ।

मुद्दामा राहदानी विभागका १० कर्मचारी, दुई विदेशी कम्पनी (Muehlbauer ID Services GmbH र Veridos Company), चार विदेशी नागरिक तथा कम्पनीका दुई नेपाली सहकर्मी गरी १८ जनालाई प्रतिवादी बनाइएको छ।

विशेष अदालतका अनुसार आरोपपत्रसहित उपस्थित गराइएका प्रतिवादीहरू तीर्थराज अर्याल, सुनिल कुमार केसी, तुल्सीप्रसाद आचार्य, राजाराम दाहाल, सोमेश थापा, विपिन प्रसाईँ र मणिन्द्रज अर्याललाई बयानका लागि मंगलबार अदालतमा उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाइएको छ।

मुद्दा दर्तापछि विभिन्न तहमा राजनीतिक व्यक्तिहरूको संलग्नताबारे चर्चा हुन थालेपछि विशेष अदालतले स्पष्ट पार्दै पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित कुनै पनि राजनीतिक व्यक्तित्वलाई यस मुद्दामा प्रतिवादी नबनाइएको जनाएको छ।

विशेष अदालतले सूचनाको अन्त्यमा उल्लेख गरेको छ, “प्रस्तुत मुद्दामा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवालगायत राजनीतिक व्यक्तित्वलाई प्रतिवादी बनाइएको छैन।”


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology