असार १९ काठमाडौं।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री प्रतिभा रावलले कार्यभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले हासिल गरेका ४८ प्रमुख उपलब्धि सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार २२३ वटा रिक्त तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका स्थानीय तहमा अधिकृत खटाइएको छ। सहकारी क्षेत्रको सुधारका लागि १,७५४ जना साना बचतकर्ताको करिब २ करोड ६३ लाख रुपैयाँ फिर्ता गरिनुका साथै १५४ जना ऋणीबाट ४ करोड ३२ लाख रुपैयाँभन्दा बढी ऋण असुल गरिएको जनाएको छ।
भूमि व्यवस्थापनतर्फ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण गरिएको छ भने ६ वटा स्थानीय तहबाट नापी तथा मालपोत सेवा सञ्चालनमा ल्याइएको छ। वडा तहबाट डिजिटल सिफारिस प्रणाली परीक्षण चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
प्रशासनिक सुधारअन्तर्गत कर्मचारी सरुवा अनिवार्य रूपमा अनलाइन प्रणालीबाट गर्ने व्यवस्था लागू गरिएको, निजामती कर्मचारीको विवरण पूर्ण रूपमा डिजिटल बनाउने प्रक्रिया अघि बढाइएको तथा कर्मचारी व्यवस्थापन सूचना प्रणाली (PMIS) विकास कार्य अगाडि बढाइएको उल्लेख छ।
डिजिटल सेवा विस्तारका क्रममा ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक गरिएको, जग्गा नापजाँच सेवाका लागि अनलाइन अपोइन्टमेन्ट प्रणाली लागू गरिएको तथा भूमि अभिलेख सूचना प्रणालीलाई राष्ट्रिय परिचय प्रणालीसँग आबद्ध गर्ने परीक्षण कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, सहकारी, स्थानीय सरकार सञ्चालन ऐन तथा निजामती सेवा विधेयकलगायत विभिन्न कानुनी मस्यौदा तयार गरिएको, स्थानीय तहको सेवा प्रवाह मापदण्ड स्वीकृत गरिएको तथा गुनासो व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ।
मन्त्रालयका अनुसार मन्त्रालय तथा मातहतका निकायमा हुने कार्यक्रम होटल तथा रिसोर्टमा नगरी मन्त्रालयकै हलमा सञ्चालन गर्ने व्यवस्था लागू गरिएको छ। साथै भूमि प्रशासनसम्बन्धी कारोबारमा अनलाइन भुक्तानी सेवा सुरु गरिएको र नागरिक एपमार्फत जग्गाको विवरण हेर्न सकिने व्यवस्था समेत मिलाइएको जनाएको छ।
मन्त्रालयले यी उपलब्धिहरूलाई सुशासन, सेवा प्रवाहमा सुधार, डिजिटल रूपान्तरण तथा प्रशासनिक उत्तरदायित्व अभिवृद्धितर्फ महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ।