काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज काठमाडौं फर्किने भएका छन्। निजी भ्रमणका क्रममा तीन दिनदेखि गण्डकी प्रदेशमा रहेका उनी सोमबार काठमाडौं फर्किन लागेका हुन्।
शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए। आइतबार मुस्ताङबाट पोखरा फर्किएर उनी राति पोखरामै बसेका थिए।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्री शाह आज काठमाडौं फर्कने कार्यक्रम छ। उनका अनुसार प्रधानमन्त्रीको भ्रमण नितान्त पारिवारिक भएकाले भ्रमणबारे धेरै जानकारी छैन।
प्रधानमन्त्री शाह सडकमार्ग हुँदै काठमाडौं–मुस्ताङ आवतजावत गरेका हुन्। उनले शनिबार मुक्तिनाथ मन्दिरको दर्शनसमेत गरेका थिए।
निजी भ्रमण भएकाले प्रधानमन्त्री शाहले गण्डकी प्रदेशमा कुनै औपचारिक कार्यक्रममा सहभागिता जनाएनन्। उनी परिवारका सदस्यसहित शुक्रबार निजी भ्रमणमा निस्किएका थिए।