काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग सङ्कलन नगर्न आग्रह गरिरहेका बेला गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित संस्था ‘हामी नेपाल’ले भने सार्वजनिक रूपमा आर्थिक तथा वस्तुगत सहयोगका लागि आह्वान गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार रसुवाका बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग सङ्कलन नगर्न तथा नगराउन आग्रह गरेको थियो। प्राधिकरणको उक्त आग्रह सार्वजनिक भएको केही समयपछि ‘हामी नेपाल’ले सामाजिक सञ्जालमार्फत बाढी प्रभावितका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको हो।
‘हामी नेपाल’ले आफ्नो आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत रसुवाको बाढी प्रभावित क्षेत्रमा तत्काल सहयोग आवश्यक रहेको जनाएको छ। संस्थाका अनुसार बाढीका कारण धेरै परिवारका घर, जीविकोपार्जनका साधन तथा आधारभूत आवश्यकताका सामग्री बगेका छन् भने कतिपय परिवार आश्रय, खाना र स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित भएका छन्।
संस्थाले आफ्नो उद्धार तथा राहत टोली रसुवामै परिचालन गरी प्रभावितलाई तत्काल सहयोग उपलब्ध गराउन काम गरिरहेको दाबी गरेको छ। उद्धार तथा राहत कार्यलाई निरन्तरता दिन संस्थाले सर्वसाधारणसँग आर्थिक तथा वस्तुगत सहयोगका लागि अपिल गरेको हो।
वस्तुगत सहयोग गर्न चाहनेका लागि आवश्यक सामग्रीको सूची तथा सामग्री बुझाउने स्थानको विवरणसमेत संस्थाले सार्वजनिक गरेको छ। आर्थिक सहयोग गर्न चाहनेका लागि बैंक खाता विवरण र क्यूआर कोडसमेत सार्वजनिक गरिएको छ।
प्राधिकरणको आग्रह : ‘जथाभावी आर्थिक सहयोग नउठाउनुहोस्’
यसअघि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग सङ्कलन नगर्न चेतावनी दिएको थियो।
प्राधिकरणले बुधबार जारी गरेको विज्ञप्तिमा केही व्यक्ति तथा समूहले बाढी प्रभावितको राहतका लागि भन्दै आर्थिक सहयोग सङ्कलन गर्न थालेको तथा नगद सहयोगका लागि क्यूआर कोडसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको गुनासो प्राप्त भएको जनाएको थियो।
प्राधिकरणले नेपाल सरकारले आह्वान गरेबाहेक कुनै पनि व्यक्ति वा संस्थालाई आर्थिक सहयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई अनुरोध गरेको थियो। अनधिकृत रूपमा आर्थिक सहयोग सङ्कलन भइरहेको जानकारी पाएमा प्राधिकरणको ०१–४२१११९७ नम्बरमा सूचना दिनसमेत आग्रह गरिएको थियो।
तर प्राधिकरणको उक्त आग्रहपछि गृहमन्त्रीसँग सम्बन्धित भनिएको संस्था ‘हामी नेपाल’ले आफ्नै सामाजिक सञ्जालमार्फत बैंकिङ विवरण र क्यूआर कोड सार्वजनिक गर्दै सहयोग आह्वान गरेपछि सरकारी आग्रह र संस्थाको कदमबीच प्रश्न उठेको छ।
यद्यपि, ‘हामी नेपाल’ले आफ्नो अपिलमा रसुवामा उद्धार तथा राहत टोली परिचालन गरिएको र सङ्कलित सहयोग प्रभावित परिवारको राहत तथा उद्धारमा प्रयोग गरिने जनाएको छ।
विपद्का बेला राहत तथा आर्थिक सहयोग सङ्कलनलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले आधिकारिक संयन्त्रमार्फत मात्र सहयोग गर्न आग्रह गर्दै आएको छ। यस्तो अवस्थामा सरकारी निकायको आग्रह र निजी संस्थाले गरेको सहयोग आह्वानबीच देखिएको अन्तरले राहत सङ्कलन तथा परिचालनको पारदर्शितामाथि बहस सिर्जना गरेको छ।