
पूर्वऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको पाँच प्रतिशत भ्याट तत्काल फिर्ता गर्न माग गरेका छन् ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ मार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि पाँच प्रतिशत भ्याटको व्यवस्था गरेका छन् । घिसिङले उक्त निर्णय आमउपभोक्ताको हितविपरीत, ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको बताएका छन् ।
उनले भने, ‘मासिक ५० युनिटभन्दा बढी खपत गर्ने अधिकांश ग्राहक सामान्य घरायसी उपभोक्ता हुन् । यस्तो अवस्थामा करले लाखौँ परिवारको मासिक खर्च बढाउनेछ र भान्सा अझ महँगो बनाउनेछ ।’
त्यस्तै, ऊर्जाविज्ञ अर्जुनकुमार गौतमले पनि विद्युत्मा भ्याट लगाउँदा नकारात्मक परिणाम आउन सक्ने बताए । ‘ऊर्जा संक्रमणको चरणमा विद्युत् विलासिताको वस्तु होइन । हरित अर्थतन्त्र विकासको साधनका रूपमा हेर्नुपर्ने हुन्छ । विद्युतीय सवारीसाधन तथा खाना पकाउने विद्युतीय उपकरणको प्रयोग बढाउन खोजिएको वर्तमान अवस्थामा थप करको व्यवस्थाले केही हदसम्म नकारात्मक सन्देश र परिणाम दिन सक्छ,’ उनले भने । डा. सुधांशु केसीले पनि विद्युत्मा भ्याट लगाउनु गलत भएको भन्दै सामाजिक सञ्जालबाट विरोध गरेका छन् ।