काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) कायम रहने स्पष्ट पार्दै आम उपभोक्तालाई अनावश्यक भार नपर्ने गरी राहतका उपायहरू अघि बढाइने बताएका छन्।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विद्युत् भ्याटलाई लिएर “आकाश खसेजस्तो” गरी प्रचार गरिएको टिप्पणी गरे। उनका अनुसार ५० युनिटसम्मको विद्युत् खपत निःशुल्क रहेकाले १५० युनिटसम्म प्रयोग गर्ने अधिकांश घरपरिवारले तिर्नुपर्ने अतिरिक्त कर रकम अत्यन्त न्यून हुनेछ।

अर्थमन्त्री वाग्लेले सरकारले लोकप्रियभन्दा पनि आवश्यक र दीर्घकालीन प्रभाव पार्ने निर्णयहरू गर्नुपर्ने बताउँदै भ्याटको विषयलाई वास्तविक तथ्यका आधारमा बुझ्न आग्रह गरे। उनले कम आय भएका उपभोक्तामाथि अतिरिक्त भार नपरोस् भन्ने उद्देश्यले राहतका विभिन्न विकल्पबारे समेत सरकार सकारात्मक रहेको संकेत दिए।
उनले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधनमा कर घटाइएको जानकारी दिँदै बजेट वक्तव्यमा त्यससम्बन्धी एउटा टिप्पणी छुटेको स्वीकार गरे। साथै, सीमित समय र स्रोतका बीच तयार पारिएको बजेटले अर्थतन्त्रको आधार मजबुत बनाउने लक्ष्य लिएको बताए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस
वाग्लेका अनुसार बजेट ऋणमा निर्भर नभई आन्तरिक स्रोत परिचालनमा केन्द्रित छ। विगतका सरकारबाट सिर्जित आर्थिक दायित्वका बाबजुद पनि रूपान्तरणकारी आयोजना समेट्ने प्रयास गरिएको उनको भनाइ थियो। दुई तिहाइ बहुमतको सरकारप्रति जनअपेक्षा उच्च रहे पनि उपलब्ध आर्थिक क्षमता र स्रोतअनुसार सन्तुलित बजेट ल्याइएको उनले बताए।