काठमाडौं असार ६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरूबाट हालसम्म झन्डै २ करोड रुपैयाँ संकलन भएको जानकारी दिइएको छ।
महाधिवेशन प्रतिनिधि व्यवस्थापन तथा समन्वय उपसमितिकी संयोजक लिमा अधिकारीका अनुसार हालसम्म ३ हजार ९९० प्रतिनिधिले प्रति व्यक्ति ५ हजार रुपैयाँका दरले सहभागिता शुल्क बुझाइसकेका छन्। यसअनुसार प्रतिनिधिबाट मात्रै १ करोड ९९ लाख ५० हजार रुपैयाँ संकलन भएको छ।
अधिकारीले उक्त तथ्याङ्क निर्वाचन आयोगलाई बुझाइएको र हाल रुजु गर्ने प्रक्रियामा रहेको जानकारी दिएकी छन्। संकलित रकम महाधिवेशन सञ्चालन, व्यवस्थापन तथा पार्टीका विभिन्न संगठनात्मक गतिविधिमा खर्च गरिने बताइएको छ।
रास्वपाले महाधिवेशनलाई पार्टीको संस्थागत सुदृढीकरण, आन्तरिक लोकतन्त्रको अभ्यास तथा संगठन विस्तारका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।
उपसमिति संयोजक लिमा अधिकारी पूर्व उपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरत मोहन अधिकारीकी छोरी हुन्।