सोमवार, साउन ११, २०८३
Follow us:

नेपाल–भारत सीमा विवादबारे अनेरास्ववियुको अन्तरक्रिया, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति

नेपाल–भारत सीमा विवादबारे अनेरास्ववियुको अन्तरक्रिया, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति

  • सत्य खबर नेपाल

  • सोमवार, असार ८, २०८३

  • 49
    SHARES
नेपाल–भारत सीमा विवादबारे अनेरास्ववियुको अन्तरक्रिया, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति

काठमाडौं, असार ८ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेपाल–भारत सीमा विवाद सम्बन्धी विषयमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

रत्न राज्य लक्ष्मी क्याम्पसमा आयोजित कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, परराष्ट्र तथा कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ तथा सीमा सम्बन्धी विषयमा लामो समयदेखि कलम चलाउँदै आएका लेखक रतन भण्डारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष दीपक धामी ले वर्तमान सरकार एकतन्त्रात्मक र निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाए। उनले मानवअधिकार, ट्रेड युनियन तथा विद्यार्थी संगठनहरूको अधिकारमाथि हस्तक्षेप भइरहेको दाबी गर्दै राष्ट्रवादी तथा देशभक्त विद्यार्थीहरू निर्णायक संघर्षका लागि तयार हुनुपर्ने बताए।

लेखक रतन भण्डारी ले प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति जानीजानी दिएको दाबी गर्दै त्यसलाई राष्ट्रहित विपरीत रहेको टिप्पणी गरे। उनले ऐतिहासिक तथ्य, प्रमाण तथा विभिन्न सन्धि–सम्झौताहरूले नेपालले भारतको भूमि अतिक्रमण गरेको पुष्टि नगर्ने बताए।

परराष्ट्र तथा कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ ले भारतबाट नेपालको भूमि, जलस्रोत तथा प्राकृतिक स्रोत–साधनमाथि पटक–पटक अतिक्रमण हुँदै आएको दाबी गरे। उनले संसदबाट सर्वसम्मत रूपमा पारित भएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा कुनै पनि सरकारले परिवर्तन गर्न नसक्ने बताए।

पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डे ले “नेपाल–भारत सीमा सम्बन्ध र नेपालको सार्वभौमिकतामाथि प्रश्न” शीर्षकमै आपत्ति जनाउँदै नेपालको सार्वभौमिकता कहिल्यै प्रश्नको विषय हुन नसक्ने बताए। “देशको भूगोल सानो वा ठूलो हुन सक्छ, तर सार्वभौमिकता सानो–ठूलो हुँदैन,” उनले भने। उनले सार्वभौमिकतामाथि प्रश्न उठाउनेहरूलाई जवाफ दिने र खबरदारी गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

पाण्डेले वर्तमान सरकारप्रति जनतामा बढ्दो असन्तुष्टि रहेको उल्लेख गर्दै सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसकेको टिप्पणी गरे। उनले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितका विषयमा स्पष्ट अडान आवश्यक रहेको बताए।

अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीका अध्यक्ष रवि मगर ले प्रधानमन्त्रीले संसदमा दिएको भनिएको अभिव्यक्तिप्रति राजनीतिक, वैचारिक तथा सार्वजनिक रूपमा प्रतिवाद आवश्यक रहेको भन्दै सोही उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology