८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्। यसका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ।
सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सांसदहरूलाई अनिवार्य रूपमा बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री थापामगरको आफ्नै दल नेकपा एमाले ले पनि सांसदहरूलाई अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
यता, सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने विवाद कायमै छ। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले विश्वासको मतको विपक्षमा मतदान गर्न प्रदेश सभा सदस्यहरूलाई निर्देशन दिएकी छन्। तर सरकारमा सहभागी राप्रपाका खानेपानी मन्त्री राजु विष्टले तामाङलाई सरकार गठन हुनुअघि नै सचेतक पदबाट हटाइसकेको दाबी गरेका छन्।
नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा मगर गत ४ भदौमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ।
पार्टी केन्द्रको निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरिसकेको छ। सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई समेत पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ।
बागमती प्रदेश सभामा राप्रपाका १२ सांसद छन्। विश्वासको मतका क्रममा उनीहरूको उपस्थिति र मतदान कसरी हुन्छ भन्ने विषय अहिले सबैभन्दा चासोको विषय बनेको छ।