कीर्तिपुर, काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि), विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आफ्नो वार्षिक प्रतिवेदन २०८१/८२ सार्वजनिक गरेको छ। स्ववियु सचिव हिक्मत कुमार बुढाद्वारा तयार पारिएको यस प्रतिवेदनले गत वर्षभरि क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधार र विद्यार्थी कल्याणका क्षेत्रमा भएका महत्वपूर्ण कार्य र उपलब्धिहरूको विवरण प्रस्तुत गरेको छ ।स्ववियु अध्यक्ष दिपक राज जोशीले प्रतिवेदनमार्फत विद्यार्थी हकहितको संरक्षण, प्रशासनिक उत्तरदायित्व र क्याम्पसलाई विद्यार्थीमैत्री बनाउन स्ववियुले निरन्तर रचनात्मक भूमिका निर्वाह गरेको बताएका छन् । “हामीले तालाबन्दी वा तोडफोड जस्ता आन्दोलनको परम्परालाई तोडेर संवाद र सहकार्यको माध्यमबाट समस्या समाधान गर्ने नीति लिएका छौँ,” प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका मुख्य बुँदाहरू:शैक्षिक तथा प्रशासनिक सुधार: विश्वविद्यालयको शैक्षिक क्यालेन्डर कार्यान्वयन, परीक्षा नियन्त्रण कार्यालयमा ‘डिजिटल हेल्प डेस्क’ को स्थापना, र शुल्क भुक्तानीमा अनलाइन (QR) प्रणालीको सुरुवात गरिएको छ । साथै, विद्यार्थीहरूको सहजताका लागि पुस्तकालयलाई २४ घण्टा सञ्चालनमा ल्याइएको छ ।नीतिगत पहल: स्ववियुको पहलमा त्रिविका विद्यार्थीहरूका लागि प्रादेशिक अस्पतालमार्फत स्वास्थ्य बीमा सुविधा सुचारु गरिएको छ । यसका अतिरिक्त, छात्रवृत्ति निर्देशिका संशोधन र विद्यार्थीमैत्री विभिन्न नीतिहरू निर्माणमा जोड दिइएको छ ।भौतिक पूर्वाधार: क्याम्पस परिसरमा सडक बत्ती जडान, सीसीटीभी क्यामेरा, खेलकुद मैदानको निर्माण तथा छात्रावासको स्तरोन्नति जस्ता कार्यहरू सम्पन्न भएका छन् । साथै, क्याम्पसको सौन्दर्यीकरण र व्यवस्थित पार्किङको लागि डीपीआर तयार गरिएको छ ।विद्यार्थी कल्याण र अतिरिक्त क्रियाकलाप: विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि ‘समर बुटक्याम्प एकेडेमिक प्रोग्राम’ र सेयर बजारसम्बन्धी कार्यशाला लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन् । स्वास्थ्य शिविर मार्फत विद्यार्थीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था पनि मिलाइएको छ ।प्रतिवेदनमा बजेट अभाव र प्रशासनिक ढिलासुस्ती जस्ता केही चुनौतीहरू कायमै रहेको उल्लेख गर्दै स्ववियुले आगामी दिनमा पनि विद्यार्थीहरूको भरोसालाई कायम राख्दै थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


