बुधबार, जेष्ठ २०, २०८३
Follow us:

मधेस टुरिजम मार्ट प्रवर्द्धन गर्न पोखरासम्म पुगे मधेसका पर्यटन व्यवसायी

मधेस टुरिजम मार्ट प्रवर्द्धन गर्न पोखरासम्म पुगे मधेसका पर्यटन व्यवसायी

  • सत्य खबर नेपाल

  • बिहिबार, जेष्ठ १४, २०८३

  • 48
    SHARES

काठमाडौं । बारा, सप्तरीदेखि पर्सासम्मका विभिन्न पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘मधेस टुरिजम मार्ट’ सफल बनाउन मधेस प्रदेशका होटल तथा पर्यटन व्यवसायी प्रचार–प्रसार अभियानमा जुटेका छन् ।
जेठ २८ देखि ३१ गतेसम्म मधेस प्रदेशमा आयोजना हुने ‘मधेस टुरिजम मार्ट’लाई लक्षित गर्दै होटल तथा पर्यटन व्यवसायी महासंघ तथा नाट्टा मधेस प्रदेशको टोलीले देशका विभिन्न पर्यटकीय क्षेत्र पुगेर अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको हो ।
जेठ ८ गतेबाट सुरु गरिएको प्रचार अभियान अन्तर्गत टोलीले बागमती प्रदेशको सौराहा, गण्डकी प्रदेशको बन्दीपुर, गोरखा र पोखराका पर्यटन व्यवसायी तथा जनप्रतिनिधिसँग छलफल गरेको जनाएको छ ।


नेपाल एसोसियन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापासहित स्थानीय पर्यटन व्यवसायीसँग मधेस प्रदेशको पर्यटन प्रवर्द्धन र सहकार्यका विषयमा छलफल गरिएको हो ।
यस्तै, पोखरा भ्रमण वर्ष २०२५/२६ का संयोजक गोपीबहादुर भट्टराई तथा सौराहामा क्षेत्रीय होटल संघका उपाध्यक्ष गुणराज थपलियाको नेतृत्वमा स्थानीय पर्यटन व्यवसायीसँग अन्तर–प्रदेश पर्यटन प्रवर्द्धनका सम्भावनाबारे अन्तरक्रिया गरिएको उनले बताए ।नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको नेतृत्वमा ३५ जना पर्यटन व्यवसायी ‘घुमौं मधेस, बुझौं प्रदेश’ नारासहित गण्डकी प्रदेशसम्म पुगेर मधेसको पर्यटन प्रवर्द्धन अभियानमा सहभागी भएका छन् ।

  1. आयोजकका अनुसार ‘मधेस टुरिजम मार्ट’ले मधेस प्रदेशका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology