असार ३, काठमाडौं । कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएका कम्पनीहरूलाई राहत दिने उद्देश्यले सरकारले कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गर्ने विशेष व्यवस्था लागू गरेको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ बमोजिम आर्थिक वर्ष २०८२/८३ को वार्षिक विवरण संवत् २०८३ असोज मसान्तभित्र पेश गर्ने कम्पनीहरूले विगतमा लागेको वा लाग्न बाँकी सम्पूर्ण जरिवाना, शुल्क तथा दस्तुर छुट पाउनेछन्।
कार्यालयका अनुसार कानुनले तोकेको समयभित्र वार्षिक विवरण पेश नगरेका, कम्पनी अद्यावधिक नगरेका वा बुझाउनुपर्ने कर, शुल्क तथा दस्तुर भुक्तानी नगरेका कम्पनीहरूले पनि यस सुविधाको लाभ लिन सक्नेछन्। यो व्यवस्था कारोबार निरन्तर सञ्चालन गर्न चाहने तथा कम्पनी दर्ता खारेज गर्न चाहने दुवै प्रकारका कम्पनीहरूमा लागू हुनेछ।
सूचनामा आर्थिक वर्ष २०८२/८३ को विवरण तोकिएको समयसीमाभित्र पेश गरी कानुनबमोजिम लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा विगतका सम्पूर्ण जरिवाना तथा अतिरिक्त दायित्वबाट छुट पाइने उल्लेख गरिएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयले व्यवसायी तथा कम्पनी सञ्चालकहरूलाई निर्धारित समयभित्र आवश्यक विवरण पेश गरी सरकारले उपलब्ध गराएको छुट सुविधाको लाभ लिन आग्रह गरेको छ।