
सुस्ता–३ । नवलपरासीमा उखु किसानको भुक्तानी ढिलाइप्रति विजय कँडेलको चासो, चिनी मिलमै पुगेर तत्काल भुक्तानीको माग
नवलपरासीका उखु किसानहरूले लामो समयदेखि भुक्तानी नपाएको भन्दै गुनासो बढेपछि युवा नेता विजय कँडेलले चिनी उद्योगमै पुगेर वस्तुस्थिति बुझ्नुभएको छ।

सुस्ता–३, कुडियास्थित बागमती खाँडसारी चिनी मिलमा पुगेर उहाँले उद्योग व्यवस्थापनसँग छलफल गर्दै किसानको पसिनाको उचित मूल्य समयमै उपलब्ध गराउनु उद्योगको दायित्व भएको बताउनुभयो।

बाँकी रहेको सम्पूर्ण भुक्तानी यथाशीघ्र किसानको खातामा उपलब्ध गराउन उहाँले व्यवस्थापनसँग आग्रह गर्नुभयो।
कँडेलले महिनौँसम्म किसानलाई आफ्नो मेहनतको मूल्यका लागि पर्खाइमा राख्नु अन्यायपूर्ण भएको उल्लेख गर्दै किसानको समस्या समाधानका लागि उद्योग, सम्बन्धित निकाय तथा सरकार गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले उखु किसानको हक, हित र न्यायपूर्ण भुक्तानी सुनिश्चित गर्न आफू निरन्तर खबरदारी गर्दै आवश्यक पहल गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।