४ साउन, काठमाडौं। सर्वोच्च अदालतको गत आर्थिक वर्षको न्याय निरुपण विवरणअनुसार पूर्व प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र वर्तमान प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा अन्य न्यायाधीशहरूको तुलनामा सबैभन्दा कम अनुपातमा मुद्दा फर्स्योट गर्ने न्यायाधीशका रूपमा देखिएका छन्।
सर्वोच्च अदालतले तयार गरेको वार्षिक विवरणअनुसार गत आर्थिक वर्षमा कार्यरत २० जना न्यायाधीशहरूले मुद्दा, रिट तथा विभिन्न निवेदन गरी करिब २४ हजार ५ सय मुद्दाको टुंगो लगाएका थिए। न्यायाधीशहरूले अदालतमा काम गरेको दिन र फैसला गरेका मुद्दाको संख्याका आधारमा दैनिक फर्स्योट अनुपात निकालिएको हो।
विवरणअनुसार पूर्व प्रधानन्यायाधीश राउतले दैनिक औसत ३.५३ वटा मुद्दा फैसला गरेका छन्, जुन सबैभन्दा कम हो। त्यस्तै, वर्तमान प्रधानन्यायाधीश डा. शर्माले दैनिक ५.७९ वटा मुद्दा फैसला गर्दै दोस्रो कम फर्स्योट गर्ने न्यायाधीश बनेका छन्।
यता, अवकाशप्राप्त न्यायाधीश डा. कुमार चुडाल भने दैनिक ९.५० वटा मुद्दा फर्स्योट गर्दै सबैभन्दा बढी मुद्दा टुंग्याउने न्यायाधीश बनेका छन्। उनीपछि टेकप्रसाद ढुंगाना दैनिक ९.४४ मुद्दाको दरले दोस्रो स्थानमा रहेका छन्। संख्यात्मक हिसाबले भने ढुंगानाले सबैभन्दा बढी १,९३६ मुद्दा फैसला गरेका छन्।
त्यसपछि श्रीकान्त पौडेल ले दैनिक ८.४५ र तिलप्रसाद श्रेष्ठ ले दैनिक ८.०४ मुद्दा फैसला गरेका छन्। हरि फूयाल, सपना प्रधान मल्ल, कुमार रेग्मी, महेश शर्मा पौडेल, शान्तिसिंह थापा र अब्दुल अजीज मुसलमान पनि औसतभन्दा बढी मुद्दा फर्स्योट गर्ने न्यायाधीशहरूको सूचीमा छन्।
सर्वोच्चको तथ्यांकअनुसार २० न्यायाधीशले औसतमा दैनिक ७.३७ वटा मुद्दा फैसला गरेका छन्। तर, केवल ९ जना न्यायाधीश ले मात्र यो औसतभन्दा बढी मुद्दा फर्स्योट गरेका छन्।
उल्लेखनीय रूपमा, संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्दा उनले धेरै मुद्दा फैसला गरेको विवरणलाई पनि आधार बनाएको दाबी गरेको थियो। तर, सर्वोच्च अदालतले सार्वजनिक गरेको पछिल्लो वार्षिक विवरणले भने उनी दैनिक मुद्दा फर्स्योटको अनुपातमा दोस्रो सबैभन्दा कम रहने देखाएको छ।