काठमाडौं । विपद्को संवेदनशील समयमा आम नागरिकबाट प्राप्त हुने सहयोग रकम अपचलन गर्ने तथा दूषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र डिजिटल माध्यमको दुरुपयोग गरी ठगी गर्न सक्ने सम्भावनाप्रति नेपाल प्रहरीले सचेत रहन आग्रह गरेको छ।
प्रहरीका अनुसार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम तथा ढाँचा नक्कल गरी फर्जी क्यूआर कोड बनाएर सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्याम हुन सक्नेछन्।
त्यस्तै, फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबरलगायत सामाजिक सञ्जालमा विभिन्न ‘राहत कोष’ वा ‘सहयोग अभियान’का नाममा फर्जी पेज तथा समूह सञ्चालन गर्ने, ‘राहत सहयोग दर्ता’का नाममा फोन गरी व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने र फिसिङ लिंक पठाएर ओटीपी तथा पासवर्ड चोरी गर्ने गतिविधिप्रति पनि प्रहरीले सचेत गराएको छ।
अपरिचित नम्बरबाट ‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनू’ भन्दै मेसेजमार्फत आर्थिक सहयोग माग्ने घटनासमेत हुन सक्ने भएकाले यस्ता अनुरोधप्रति सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
प्रहरीले कुनै सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal)को आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेजबाट मात्र पुष्टि गर्न अनुरोध गरेको छ। अपरिचित व्यक्ति वा पेजबाट प्राप्त क्यूआर कोड, लिंक वा बैंक खाता नम्बरमा तत्काल विश्वास नगर्न पनि आग्रह गरिएको छ।
त्यसैगरी, फोन वा म्यासेजमार्फत कसैले बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी मागेमा त्यस्ता विवरण उपलब्ध नगराउन तथा अपरिचित व्यक्तिले सहयोग मागेमा रकम पठाउनुअघि भिडियो कल वा प्रत्यक्ष फोनमार्फत अनिवार्य रूपमा पहिचान पुष्टि गर्न प्रहरीले सुझाव दिएको छ।
विपद् राहतको नाममा कुनै व्यक्ति वा समूहले स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोलाई तत्काल जानकारी गराउन नेपाल प्रहरीले अनुरोध गरेको छ।
