बुधबार, भदौ २४, २०८३
Follow us:

एमाले–नेकपा कार्यदलले कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्‍यो

एमाले–नेकपा कार्यदलले कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्‍यो

  • सत्य खबर नेपाल

  • सोमवार, भदौ २२, २०८३

  • 0 View
    SHARES
एमाले–नेकपा कार्यदलले कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्‍यो

विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच कोशी प्रदेश सरकार गठनअघि भएको सहमतिअनुसार गठित न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ ।

गत साउन २५ गते बसेको दुवै दलको बैठकले साझा कार्यक्रम निर्माणका लागि नेकपा संसदीय दलका नेता इन्द्र आङ्बोको संयोजकत्वमा कार्यदल गठन  गरेको थियो । सोहीअनुसार गठित कार्यदलमा एमालेका तर्फबाट संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठक, सांसद रेवतीरमण भण्डारी र एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारी रहेका छन् ।

त्यस्तै, नेकपाका तर्फबाट कार्यदल संयोजक आङ्बोसहित दलका उपनेता बाबुराम गौतम र सांसद गणेश उप्रेती सहभागी थिए ।

कार्यदलले अन्तिम बैठकपछि सोमबार न्यूनतम साझा कार्यक्रम प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाउने तयारी गरेको छ । कार्यदलका संयोजक आङ्बोका अनुसार कार्यक्रममा केही नयाँ विषयसमेत समेटिएका छन् ।

स्रोतका अनुसार साझा कार्यक्रममा प्रदेशको संरचना निर्माण गर्ने विषय नयाँ रूपमा समेटिएको छ । कार्यदल सदस्य रेवतीरमण भण्डारीका अनुसार प्रदेश सरकारको बाँकी कार्यकाललाई ध्यानमा राख्दै विगतका नीति, कार्यक्रम र बजेटमा समेटिएका विषयलाई एकीकृत तथा प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने गरी कार्यक्रम तयार गरिएको हो ।

कृषि, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको भण्डारीले बताए । उनका अनुसार बजेटमा समेटिएका कार्यक्रमलाई थप प्रभावकारी र ठोस रूपमा कार्यान्वयन गर्नु साझा कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

यसैबीच, एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार विस्तार भइसकेको छ । नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालयमा जीवन आचार्य, सामाजिक विकासमा गीता तिम्सिना, पर्यटन, वन तथा वातावरणमा खिनु लङ्वा लिम्बू र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गोम्बु शेर्पालाई पठाएको छ । सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

एमालेले भने यसअघिकै मुख्यमन्त्री तथा मन्त्रीहरूलाई निरन्तरता दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीमा विदुरकुमार लिङ्थेप, स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली, कृषि मन्त्रीमा रामदेव मेहता र खानेपानी तथा सिँचाइ मन्त्रीमा तिलचन पाठक रहेका छन् । स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमलाई पनि निरन्तरता दिइएको छ । कोशि प्रदेशमा यस अघि नेपाली काङ्ग्रेस र नेकपा एमाले को साझा सरकार रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology