३० जेठ, काठमाडौं । चर्चित सेफ सन्तोष साह बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साह पक्राउ परेको पुष्टि गरेको छ। कार्यालयका एसएसपी सन्तोष खड्का का अनुसार साहलाई बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा आर्थिक लेनदेनसम्बन्धी विवाद उत्पन्न भएपछि उनीविरुद्ध उजुरी परेको थियो। साहले उक्त रेष्टुरेन्ट करिब १ करोड ३० लाख रुपैयाँमा खरिद गरेको भए पनि बाँकी रकम भुक्तानी नगरेको आरोप लगाइएको छ।
उक्त आरोपका आधारमा अनुसन्धान अघि बढाइएको र आवश्यक कानुनी प्रक्रिया अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाबारे थप विवरण आउन बाँकी रहेको तथा अनुसन्धानको निष्कर्षपछि मात्रै आरोपको यथार्थता स्पष्ट हुने प्रहरीको भनाइ छ।